असललाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

२०७५ आश्विन १५ गते, सोमबार

काठमाडौं , १५ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई बाटो म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित दुर्गप्रसाद जैसीले आइतबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सोमबार सरकार, गृहमन्त्रालय, मकवानपुर प्रहरीलगायत विपक्षीहरुको नाममा आदेश भएको हो ।
रुपन्देही जिल्ला अदालतले रिहा गर्न आदेशमा असोज १० गते धरौटी बुझाई छुटिएलगत्तै प्रहरीले गिरफ्तार गरी ११ गते बिहान मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । मकवानपुरमा खड्कामाथि पालुङस्थित स्काभेटरमा आगजनी गरेको अभियोग लगाइएको छ । यसअघि रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–२ स्थित जितगढी किल्ला क्षेत्रभित्र राखिएको फुलबारीनजिकको भारतीय पेन्सन क्याम्पमा बम विष्फोट गराई क्षति पुर्याएको अभियोगमा ‘विष्फोटक पदार्थ’मा जिल्ला अदालत भैरहावामा मुद्दा चलाइएको थियो ।
खडकालाई पार्टी कामको सिलसिलामा सार्वजनिक यातायात चढेर काठमाडौं आउँदै गर्दा गएको भदौ ५ गते बेलुका धादिङको नौबिसेबाट सादा पोशाकमा गएको डेढ दर्जन प्रहरीको टोली गिरफ्तार गरी झण्डै १५ घण्टा बेपत्ता र चरम रुपमा शारीरिक र मानसिक यातना दिई भोलिपल्ट ६ गते महानगरीय प्रहरी परिसर टेकुबाट सार्वजनिक गरिएको थियो । चरम यातनाबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ भने खुट्टा र पैदल टेक्न कठिन हुने भएको छ । उपचारसमेत गर्न दिइएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]