‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि दबाबको खाँचो’

२०७५ आश्विन १७ गते, बुधबार

काठमाडौं, १७ असोज । मानवअधिकारकर्मी,राजनीतिक दल, अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संविधानले दिएको अधिकार माथि नै अंकुश लगाउने प्रयास भएको भन्दै सचेततापूर्वक दबाव दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा चितवनको संयोजनमा नारायणगढमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए । जुनसुकै सरकार आएपनि निरङ्कुश बन्ने खोज्ने गरेको टिप्पणी गरे । उनले भने , ‘जुनसुकै सरकार होस निरङ्कुश बन्ने प्रयास गर्छ यो सत्य हो, मिडिया प्रतिपक्ष हो यो पनि सत्य हो तर हामीले आफ्नो भूमिका निर्वाह गर्न छोड्न हुँदैन ।’ उनले विचार सून्य कोही हुन नसक्ने तर पत्रकारले पनि विवेक चाही गुमाउन नहुँने जोड दिए । जनअधिकार अभियान नेपाल चितवनका जिल्ला संयोजक गंगाबहादुर कोईरालाले अहिलेको संविधान नै पूर्ण नभएकाले आउने कानुनहरु अपुरो हुनु स्वभाविक भएको बताए । अहिले राज्य सञ्चालन गर्नेहरुले विधिको शासन उल्लंघन गरिरहेको उल्लेख गरे । उनले भने ,‘संविधान छ तर व्यवहारमा हेरम त कार्यान्वयन कस्तो छ ? यो सरकार नै असफल छ । ’
नारायणी अनलाईनका सम्पादक मधुसुदन दवाडीले पत्रकार पनि विभाजित हुँदा समस्या हुने गरेको बताए । उनले सत्ता निकट रेहेका पत्रकारले नेताहरुको नकारात्मक कुरा लेख्न पनि हिचकिचाउने गरेको बताए । अहिले संक्रमणकालका कारण पनि समस्या देखिएको हुनसक्ने दवाडीको भनाई छ ।
सो कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका चितवन सेक्रेटरी धुव्र राज्यले आफ्नो राज बचाइ राख्नका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिरहेको बताए । भ्रष्टाचारी, अनियमितिता, अन्याय र अत्याचारका विरुद्ध बोल्न नदिनु भनेको राज्यले आफ्नो आफ्नो गलत कर्टुतको राज बचाइराख्नु हो उनले भने । देशमा हत्या, हिंसा, बलात्कारका घटनाहरु दिनदिनै भइरहेका छन्, न्याय नपाएर जनता छटपटाइरहेका छन् ,अन्यायमा परेका नागरिकलाई न्याय दिनुको साटो उल्टै आफूहरुलाई बोल्न नदिनु, राज्यको गलत कार्य भ्रष्टाचारको विरुद्ध पत्रकारलाई लेख्नमा अकुुंस लगाउनु, शान्तिपूर्ण सभा सम्मेलन संगठन गर्न प्रतिबन्ध लगाउनु, आफ्ना नेता कार्यकर्तामाथि निगरानी बढाउनु, धरपकड गरिरहेको राज्यको हर्कतको घोर भत्सर्ना गर्नुभयो र यस्ता खालका खराबीका विरुद्ध निरन्तर खबरदारी गर्न र नझुकी लेख्न, आवाज उठाउन पत्रकारहरुलाई आग्रह गरे । सबैभन्दा बढी मानवअधिकारको, प्रजातन्त्रको चर्को कुरा गर्ने व्यवस्थामै मानवअधिकार सबैभन्दा बढी हनन र उलंघन भइरहेको छ भन्दै उहाँले आफूहरुले माानवअधिकारलाई जनअधिकारको रुपमा लिएर सम्पूर्ण जनताको अधिकारको लागि लागिरहेको बताए ।
यसैगरी, नेपाल शिक्षक महासंघ चितवनका सचिव राम जी भण्डारीले बोलेकै कारण अहिले नेकपाका नेताहरुलाई धरपकड गरेको भन्दै आपत्ति जनाए । उनले भने ,‘ आफ्ना मुद्धाहरु उठाउँदा पक्राउ पर्नुपर्ने अवस्था के हो ? बोल्दा पक्राउ पर्नु पनि कहि अभिव्यक्ति स्वतन्त्रता हुन्छ ।’
नेपाल मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कल्पना उप्रेतीले मानव अधिकारका लागि प्रेस स्वतन्त्रता चाहिने बताए । इन्सेक चितवनका प्रतिनीधि एवं पत्रकार दिपेन्द्र अधिकारीले अहिले देवानी फौजदारी संहिताका कारण समाचार लेख्नै हच्किनुपर्ने अवस्था आएको बताए । उनले भने ,‘ हामी खेलेर समाचार लेख्ने अवस्था छैन, कसले कतिबेला अनावश्यक उजुरी हालेर दुःख दिन्छ थाहै हुँदन ।’ उनले अहिलेको मिडिया पुरै पूँजीवादी चरित्रका भएको भन्दै निमुखा र गरिबको समाचारलाई प्राथमिकता नदिएको बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपालले अहिले आम पत्रकारले निर्धक्क भएर स्वतन्त्रता उपभोग गर्न नसकेको बताए ।
क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन संगठन महासचिव हिम बिष्टले गरेका थिए भने क्रान्तिकारी पत्रकार संगठन चितवन जिल्लाका सचिव तथा अधिवक्ता सुरज शर्माले स्वागत मन्तव्य राखेका थिए ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाले असोज ४ गतेदेखि सुरु गरिएको अभियान अन्तरगत यो आठौं कार्यक्रम भएको संगठनका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष होमनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]