नेकपानिकट क्रान्तिकारी पत्रकार संगठन बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाण्डौ, २० असोज । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले आज काठमाण्डौमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ । काठमाडौंको भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको सभाहलमा बिहान साढे ११ बजे मानवअधिकार,प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
देशभर मानवअधिकारको हनन र स्वतन्त्र प्रेसको उल्लंघन भइरहेको भन्दै सरकारको चर्को आलोचना भइरहेको बेला देशव्यापी रुपमा बृहत् अन्तरक्रिया कार्यक्रम जारी राखेको छ ।
असोज २ गते दाङमा बसेको संगठनको पहिलो बैठकले लिएको सरकारले भदौ १ गतेबाट लागू गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा राखिएको पूर्ण स्वतन्त्र प्रेसविरोधी प्रावधानहरुको खारेजी माग र मानवअधिकारको रक्षाको विषयलाई देशव्यापी बनाउने निर्णयअनुसार अहिलेसम्म पश्चिम कञ्चनपुरदेखि चितवनसम्म गरी आठ स्थानमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
मानवधिकारको रक्षा र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई बचाउने उद्देश्यले आयोजित उक्त अन्तरक्रिया कार्यहरुमा बोल्ने विभिन्न पेशागत, अधिकारकर्मी, कानूनी व्यवसायी, राजनीतिक दल तथा सरोकारवाला पक्षका प्रतिनिधिहरुले वर्तमान सरकारले नै मानवधिकार र स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने लागिपरेको धारणा राखेका छन् । उनीहरुले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारको उपभोगमा पूर्ण ग्यारेन्टी गराउन सरकारसँग माग गरेका छन् ।
हालसम्म दाङ, कञ्चनपुर, कैलाली, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा र चितवनमा कार्यक्रम सम्पन्न भईसकेको र आज काठमाण्डौमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष डुम्रेले बताए ।
आजको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक, नेपाल बार एशोसिएसनका महासचिव गम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता एकराज भण्डारी , नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ठ लगायत, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न पेशागत, अधिकारकर्मी, कानूनी व्यवसायी, राजनीतिक दल तथा सरोकारवाला पक्षका प्रतिनिधिहरुको सहभागीता हुने संगठनका महासचिव हिम विष्ठले जानकारी दिए ।