‘संविधानमा भएको व्यवस्था उल्लंघन गर्नु कुनै बहादुरी होईन, राज्यले विचार गरोस् ’

२०७५ आश्विन २० गते, शनिबार

काठमाण्डौ, २० असोज । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले नेपाल कम्युनिष्ट पार्टीको विचारलाई जनताकोबीचमा लैजान सरकारले रोक्न नहुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा’ विषयक अन्तरकृया कार्यक्रममा बोल्दै पाठकले सो धारणा व्यक्त गरेका हुन् । उनले कुनै पनि राजनीतिक दललाई संगठित हुने अधिकार, विचार राख्न पाउने अधिकार, शान्तिपूर्ण भेला गर्न पाउने अधिकारबाट बन्चित गर्न नमिल्ने बताए । उनले भने ,‘ म नामै लिएर भन्न चाहन्छु कि विप्लव जीहरु तपाईहरु गाँउ गाँउमा जानुस् संगठन बनाउनुस्, बैचारिक बहस गर्नुस् यसमा त संविधानले प्रष्ट अधिकार दिएको छ ’ ।
उनले विप्लव नेतृत्वको नेकपाको आन्दोलन राजनीतिक भएकोमा आफू प्रष्ट रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे । यसैगरी, नेपाल बार एशोसियशनका महासचिव खम्मबहादुर खातीले सरकारले सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको भन्दै आपत्ति जनाए । उनले अदालतले निर्दोष भन्दाभन्दै पनि सरकारले पक्राउ गर्नुले अदालतको आदेशको औचित्यमा प्रश्न उठ्ने गरेको बताए । उनले भने ,‘संविधानमा भएको व्यवस्था उल्लंघन गर्नु कुनै बहादुरी होईन, राज्यले विचार गरोस् ।’
जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय व्यवस्थाकै कारण अहिलेको समस्या आएको बताए । उनले भने ,‘संविधानमा समाजवाद उन्मुख भनेर लेखिएको छ,संविधानमा जति लेखिएको छ त्यत्ति मात्रै कार्यान्वयन भएको भए तत्कालै आन्दोलनको आवश्कता हुने थिएन तर अब त्यो अवस्था छैन ।’ उनले अहिलेको सरकार आत्तिएर विप्लव नेतृत्वका नेकपाका कार्यकर्तामाथी धरपकड गरेको बताए ।
डेमोक्रेटिक लयर्स एशोसिशसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले जुन सरकार आएपनि निरङ्कुश बनेको टिप्पणी गरे । उनले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्न खोजको भन्दै आपत्ति जनाए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राज्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार रहेको बताए । उनले फौजदारी कानुन अनुसार पत्रकारलाई कारवाही गर्ने विषयमा आफूहरुको असहमति रहेको बताए । उनले सञ्चारमन्त्रीले पत्रकारलाई अपहेलना गर्दै खर्च लिन आउनुस् भनेको प्रति आपत्ति समेत जनाए ।
यसैगरी सो अन्तरकृया कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नेकपामा आवद्ध भएकै कारण विभिन्न नेता कार्यकर्तामाथी सरकारले धरपकड गरिरहेको गुनासो गरे । उनले फरक विचार राखेकै कारण नेकपाका कार्यकर्तालाई घरबाट,बाटोबाट,कार्यक्रमबाट गरिफ्तार गरिरहेको बताए । उनले भने ,‘ अहिले हामीलाई नेकपाकै कार्यकर्ता भएका कारण जहाँ पायो त्यहीबाट पक्राउ गरिएको छ, कहाँ छ अभिव्यक्ति स्वतन्त्रता ? कहाँ छ राजनीति गर्न पाउने अधिकार ?’ झण्डै ३ महिना प्रहरी हिरासतमा रहेका पुनले आफूलाई २० घण्टासम्म आखामा पत्ति बाँधेर राखेको बताए । उनले भने ,‘मलाई पक्राउ गरेर २० घण्टासम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिईयो, सुत्दापनि आँखामा पट्टी बाँधियो ।’ पोलिटब्युरो सदस्य पुनले युद्धकालमा मानवअधिकारका क्षेत्रबाट अनुगमन भएपनि अहिले कुनै अनुगमन नभएको उल्लेख गरे । उनले भने ,‘ यो त युद्धकालको भन्दा पनि बढी भयो । ’
यसैगरी सो कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य आजदले जनतामाझ आफूहरुलाई कुरा लैजान नदिएर सरकारले निरङ्कुशता देखाएको आरोप लगाए । उनले केपी शर्मा ओली र प्रचण्डहरु बैचारिक रुपमा प्रतिस्प्रधा गर्न नसकेर आफूहरुलाई राजनीतिक अधिकारबाट बन्चित गरिएको आरोप लगाए । उनले भने ,‘हामीलाई जनताकाबीचमा विचार राख्न दिईएको छैन, राजनीति गर्न पाउने अधिकार, संगठित हुन पाउने अधिकार र बैचारिक प्रतिष्प्रध ागर्न पाउने अधिकार खोस्नुभएको छ । उनीहरु बैचारिक प्रतिष्प्रधा गर्न सक्दैनन् त्यसैले हामीलाई रोक्ने प्रयास भएको छ । ’
यसैगरी ,सोहि अन्तरकृया कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ –क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले सरकार महिला अधिकारको रक्षा गर्न चुकेको आरोप लगाइन । उनले भनिन ,‘महिलामाथी उत्पिडन बढ्दो छ तर राज्य सुरक्षा दिन असफल भएको छ, यस्तै हो भने अब अर्को आन्दोलनको विकल्प छैन ।’
क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संगठन महासचिव हिम बिष्टले गरेका थिए भने स्वागत मन्तव्य सचिव सिर्जना तिम्सिनाले राखेकि थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]