सत्तारुढ नेकपाभित्र रडाको, प्रचण्ड ओलीको गीता गाउँदै

२०७५ आश्विन २७ गते, शनिबार

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक बिबादका कारण सचिवालय बैठक नै अनिश्चित बनेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रिबीचको पार्टी एकतापछि प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरे पनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आलटाल गरेको नेताहरुले आरोप लगाएका छन् । प्रदेश पदाधिकारी छनोटका क्रममा एकलौटी गरेको भन्दै असन्तुष्ट बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा पत्र नै दर्ता गराएका छन भने प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन । यद्यपि नेता नेपालको पत्रमाथि कुनै छलफल भएको छैन । नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै बारम्बार स्थगित सचिवालय बैठक बोलाइए पनि बस्ने निश्चित नभएको नेताहरुको भनाई छ ।
बरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र असन्तुष्टि चुलिएको स्वीकार गर्दै तत्काल स्थायी समिति बैठक बोलाएर समाधान खोज्न आग्रह गरेका छन् । पार्टी बिधि र सिद्धान्तअनुसार चल्न नसकेको बताउँदै उनले नेता, कार्यकर्ताको सम्मान भएन भने पार्टी बलियो नबन्ने तर्क अगाडि सारेका छन् । तत्कालिन नेकपा र माओवादी केन्द्रबीच एकीकरण भएको ५ महिना हुँदा समेत तल्लो तहका कमिटीको एकीकरण टुङ्ग्याउन नसक्नु दुखद भएको उनको टिप्पणी थियो । सरकारको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यसमाथि समेत समीक्षा आवश्यक रहेको बताए । उता पार्टीभित्र वामदेव गौतमको संसद प्रवेश गराउने प्रपञ्चले विभाजनको रेखा कोरेको छ । चौतर्फी आलोचनाबाट हच्किएका गौतम अन्ततः संसद प्रवेशको इच्छाबाट बाहिरिन बाध्य बनेका छन् । उनलाई जबरजस्त साथ दिँदै आएका अध्यक्ष पुष्पकमल दाहालसमेत आफ्नो मतबाट पछि हट्न बाध्य बनेका छन् । दलभित्रको समीकरणमा समेत प्रभाव पर्न सक्ने देखेपछि समयानुकुल परिवर्तन गर्न सक्ने दाहालले एक पटक पुनः आपूmलाई त्यसरी नै उभ्याएका हुन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दाहाल सरकार र सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको सफलता सुनाउँदै थिए । वामदेव गौतमको संसद प्रवेशमा सक्रिय बनेका दाहाल भविष्यमा अल्पमतमा पर्न सक्ने देखिएपछि ओलीलाई फकाउने दाउमा उभिएका छन् । उनको यो भनाईले पनि ओलीलाई तत्काल चिढ्याउन हुँदैन भन्ने आशय देखिन्छ । केही समयअघि मात्र सरकारले सोचे अनुरुप काम गर्न नसकेको अभिव्यक्ति दिएका उनको शुक्रबारको हाउभाउ निकै फरक थियो । र, भन्दै थिए–ओली नेतृत्वको सरकार इतिहासकै सफल । गौतमलाई संसदमा प्रवेश गराउन ओली सकारात्मक थिएनन् । उनी निकट मानिएका नेताहरुकै भनाई पनि पुष्टि गर्छ । हुन त ओलीले सार्वजनिक रुपमा यो विषयमा कतै टिप्पणी गरेका छैनन् । दाहाललाई अबको महाधिवेशनसम्म ओलीलाई साथमा लिनुपर्ने बाध्यता पनि छ । त्यसैले गौतम प्रकरणबाट दाहाल ओलीलाई चिढ्याउन चाहँदैनन् । त्यसैले पनि उनको अभिव्यक्ति ओलीको महानतामा केन्द्रित भएको अनुमान गर्न थालिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]