१ अर्ब ठगी गर्ने दिनेश कोइराला पक्राउ

काठमाडौं, ७ कार्तिक । महानगरीय अपराध महाशाखाको टोलीले अन्दाजी १ अर्ब ठगी गर्ने दिनेश कोइरालालाई पक्राउ गरेको छ । कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । कोइरालाले सस्तो मूल्यमा जग्गा मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर सार्वसाधारणलाई ठग्दै आएका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार पक्राउ गरिएको कोइरालालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ ।
वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ खोटाङका श्याम खड्काबाट १९ लाख लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कोइरालाले खड्कालाई जापान पठाउन नसकेपछि दिएको १९ लाखको चेक बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।
व्यापार व्यवसायमा शेयर दिने, पैसा डबल हुने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने लगाएतका बहाना बनाएर कोइरालाले विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए । कोइरालालाई तत्कालका लागि बैंकिङ कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ । अहिलेसम्ममा कोइरालाले करिब १ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीको अनुमान छ । कोइरालाले महिलाहरुलाई फकाईफुल्याई रकम लिने गरेका थिए । प्राय विधवा, डिभोर्सी आदि महिलाहरुसँग कोइरालाले ऋण वा सापटीका नाममा रकम लिने र फिर्ता नगर्ने गरेको पाइएको छ ।