निर्मला पन्त बलात्कार–हत्या प्रकरण , कसको निर्देशनमा किन प्रमाण मेटाउने काम गरियो ?
काठमाडौं, १० कात्तिक । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा प्रमाण नस्ट गरेको र त्यसपछिको आन्दोलनमा दमन गरेको आरोप लागेका दुई प्रहरी अधिकृतलाई सरकारले सेवाबाट हटाए पनि पीडित पक्षले भने राहत महसुस गर्न सकेका छैनन् । एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तीपछि उनीहरुले कसको निर्देशनमा कसका लागि प्रमाण मेटाउने काम गरे ? भन्ने प्रश्न टड्कारो भएको छ । यसतर्फ किन अनुसन्धान अहिलेसम्म सोझिएको छैन ? भन्ने सबैको चासो छ । अर्कोतर्फ घट्नाको तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेकामा अब थप कस्तो अनुसन्धान हुन्छ ? भन्ने अहं प्रश्न सबैले सरकारतर्फ तेस्र्याएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको तीन महिना पूरा भएको छ । घटनाको अनुसन्धानका लागि धेरैओटा छानबिन समिति बने । तर, अपराधी अहिलेसम्म पत्ता लागेको छैन । पटक–पटकका अनुसन्धानबाट घटनाको छानबिनमा प्रहरीले सुरुदेखि नै लापरबाही गरेको पुष्टि भएपछि कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिएको छ । बम दिदीबहिनी र बर्खास्तमा परेका प्रहरी पदाधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थाल्ने हो भने सबै घटना बाहिर आउने पीडित पक्षको भनाइ छ ।
बर्खास्तीसँगै उनीहरु प्रमाण नस्ट गर्ने कार्यमा संलग्न भएको भन्नेसमेत पुष्टि भएको छ । अब प्रश्न उठ्छ, उनीहरु किन प्रमाण नस्ट गर्ने कार्यमा संलग्न भए ? अथवा कसका लागि उनीहरुले प्रमाण नस्ट गरे ? यस विषयमा उनीहरुमाथि अनुसन्धान हुन जरुरी छ । अर्कोतर्फ घटनाको तीन महिना पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकार असफल भएपछि अब प्रहरीले के गर्छ ? सबैका लागि चासोको विषय बनिरहेको छ ।
यसैबीच, प्रमाण नस्ट गर्ने र शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा हत्यारा यथाशीघ्र पत्ता लगाउनुपर्ने माग पीडित पक्षको छ । निर्मलाका आफन्तलगायत स्थानीयवासीले भने वास्तविक अपराधी पत्ता नलगाई न्यायको अनुभूति नहुने बताएका छन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीको बर्खास्तीभन्दा हत्यारा पत्ता लगाउनु महत्वपूर्ण विषय भएको बताइन् । यस्तै, निर्मलाको न्यायका निम्ति भएको प्रदर्शनमा मृत्यु भएका बालक सनी खुनाको परिवार पनि प्रहरी बर्खास्त गरेर मात्रै नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्छन् ।
