प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाण्डौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ओलीलाई अझै दुई/तीन दिन अस्पतालमै राखिने भएको छ । अहिले उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई आईसीयुमा राखेर एन्टिबायोटिक चलाइएको छ । कार्डियोलोजी विभागका निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य हुँदै गएको जानकारी दिए । प्रधानमन्त्री ओली आज बिहान ४ बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । दसैं लगत्तै सामान्य रुघाखोकी लागेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि ज्वरो आएको थियो । तर गएरातिदेखि लगातार खोकी लागेकाले स्वासप्रश्वासमा समस्या भएपछि आज बिहान उनलाई अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहले प्रधानमन्त्री ओलीलाई दुई/तीन दिन अस्पतालमै राखेर उपचार गरिने जानकारी दिइन् विदेश लगेर उपचार गर्नुपर्ने अवस्था भने अहिले नरहेको उनले बताइन् । अस्वस्थ भएर अस्पतालमा उपचारका लागि प्रधानमन्त्री भर्ना भएपछि बिहानैदेखि नेकपाका कार्यकर्ताहरु प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुगेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रीहरु र नेकपाका कार्यकर्ताहरु अस्पतालमा पुगेका थिए ।
