बुद्धिजीवीद्वारा विदेशी हस्तक्षेप बढेको ठोकुवा

२०७५ मंसिर ४ गते, मंगलवार

काठमाडौं, ४ मङ्सिर । बुद्धिजीवीहरुले सरकारले जनचाहना विपरीत कार्य गरेको भन्दै चिन्ता जनाएका छन । उनीहरुले कम्युनिस्ट नामको सरकार गठन भएपछि झन् विदेशी हस्तक्षेप बढेको ठोकुवा समेत गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन केन्द्रीय समितिद्वारा ‘नेपाली जनताको चाहना र देशको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कम्युनिस्ट नामको सरकारको गठनपछि महँगी, भ्रष्टाचार, बलात्कार बढेको भन्दै सरकार फासिवादी बन्दै गएको बताए । उनले संविधानले दिएको भेला हुने पाउने, सङ्गठित हुन पाउने, विरोध तथा जुलुस गर्न पाउनेलगायत अधिकार पनि उपयोग गर्न नदिएर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको उनको भनाइ थियो । सरकारले देशैभरि गिरफ्तारी, धरपकड र यातना दिएको, जनतालाई शान्ति र सुशासन दिनुको साटो दमनमा गएको भन्दै उनले आपत्ति प्रकट गरे ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले नेपालको हजारौँ हेक्टर जमिन मिचेको भन्दै भारतीय सीमामा नियमन गर्नुपर्ने र सीमा विवाद हल गर्नुपर्ने बताए ।
कार्यक्रममा नायक तथा सीमा काँडेतार अभियानका अभियन्ता नवल खड्काले सिमानामा काँडेतार लगाउनुपर्ने र सीसीटीभीमार्फत निगरानी राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्वगभर्नर एवम् वामपन्थी बुद्धिजीवी दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रमेश शर्मा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, सूव सेनलगायतले सरकार इतिहासमै असफल भएको धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता सङ्गठनका अध्यक्ष टीका कँडेलले र सञ्चालन नरोत्तम पाण्डेले गरेका थिए । कार्यक्रम नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको प्रदर्शन तथा जनसभा तयारीका सन्दर्भमा गरिएको सङ्गठनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]