निर्मलाका बाबुआमा विक्षिप्त

काठमाडौं, ६ मंसिर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याराको दोषी पत्ता लगाउन माग गर्दै विगत १२ दिनदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि उनका बाबुआमा धर्नामा बसिरहेका छन् । स्वास्थ्य निकै कमजोर बन्दै गएका निर्मलाका बाबु यज्ञराज पन्त विक्षिप्त अवस्थामा समेत देखिन थालेका छन् । उनी घरीघरी छोरी निर्मलाको नाम लिंदै चिच्याउने गर्छन् ।
धर्नामा बसेका पन्त परिवारलाई भेटेर विभिन्न राजनीतिक दल र मानवअधिकारवादीहरुले ऐक्यबद्धता जनाएका छन् । उनीहरुले निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन सरकारलाई दबाब दिने आश्वासन समेत दिएका छन् । निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले सरकारी निकायले नै अपराधीलाई लुकाएको आरोप लगाइन । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि विभिन्न छानबीन समिति गठन भएपनि दोषीबारे अहिलेसम्म कुनै संकेत पत्ता लाग्न समेत सकेको छैन ।