नेकपा विशाल जनप्रदर्शन र जनसभा गर्दै, प्रकाण्डले सम्बोधन गर्ने

२०७५ मंसिर ८ गते, शनिबार

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा गर्दैछ । २०७१ साल मङ्सिर ८ गते मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर विप्लव, प्रकाण्ड र कन्चनले नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरेका थिए । उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति हुने निर्णय पनि गरेको थियो । २०७१ साल पुसमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन गर्नुका साथै २०७३ फागुनमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेपाली क्रान्तिका आधारहरू तयार पार्नुका साथै दर्शनमा पनि थप विकास गरेको जनाएको थियो । नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ । उसले मङ्सिर ८ गतेको जनसभामार्फत आफ्नो पार्टीका धारणाहरू पनि सार्वजनिक गर्ने बुझिएको छ । उक्त जनसभालाई पार्टी प्रवक्ता प्रकाण्ड र अन्य कम्युनिस्ट तथा वामपन्थी पार्टीका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । आज नेकपाले काठमाडौँबाहेक देशका अन्य स्थानहरूमा पनि कार्यक्रम गर्ने जनाएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गतेको जनसभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेकपा जनसभा प्रचारप्रसार उपसमितिले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमितिका संयोजक मिलनले पार्टी स्थापना दिवसमा लाखौं जनताको सहभागिता रहने बताए । उक्त दिन पार्टीको आगामी योजना र बार्तालगायत समसामयिक राजनीतिको बारेमा पार्टीको धारणा सार्वजनिक हुने उनले बताए । जनसभामा पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक मिलनले बताए । उक्त पत्रकार सम्मेलनमा जनसभा प्रचारप्रसार उपसमितिका संयोजक मिलनको हस्ताक्षरमा वितरण गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ–
पत्रकार मित्रहरू,
सर्वप्रथम यस पत्रकार सम्मेलनमा सहभागी पत्रकार मित्रहरू लगायत सम्पूर्णमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति र जनसभा परिचालन तथा व्यवस्थापन समितिका तर्फबाट हार्दिक अभिवादन !
मित्रहरू,
हाम्रो पार्टी २०७१ साल मङ्सिर ८ गते एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् तथा गौरवपूर्ण यात्रामा सहभागी हुन पुनर्गठन गरिएको कुरा सर्वविदितै छ । विगत वर्षहरूमा पनि हाम्रो पार्टीले मङ्सिर ८ गते देशव्यापी पार्टी पुनर्गठन दिवस मनाउँदै आएको यहाँहरूमा जानकारी भएकै विषय हो । पार्टी केन्द्रीय समितिको साताँै पूर्ण बैठकको निर्णय अनुसार ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔ“ ! वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौ“ !!’ भन्ने मूल नाराका साथ यो वर्ष पनि मङ्सिर ८ मा साताव्यापी पुनर्गठन दिवस मनाउन लागिरहेको सन्दर्भ छ । यही विषय जानकारी गराउन यो पत्रकारसम्मेलन आयोजना गरिएको बेहोरा अनुरोध छ ।
१. पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शनको संयोजकत्वमा जनसभा व्यवस्थापन तथा परिचालन समितिको २०७५ साल कात्तिक २५ गते बसेको बैठकले जनसभालाई व्यवस्थित पार्न विभिन्न उपसमितिहरू गठन गरेर देशव्यापी रूपमा प्रचारप्रसारका कार्य अगाडि बढाइरहेको छ । देशव्यापी प्रचारप्रसार र तयारीका कार्यहरू अन्तिम चरणमा पुगेका छन् भने उक्त दिन देशव्यापी रूपमा पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमसमेत आयोजना गरेर मनाइनेछ ।
२. मङ्सिर ८ गते ११ बजे काठमाडौँका ः क) गोङ्गबु बसपार्कबाट लैनचौर हुँदै, ख) कालीमाटीदेखि टेकु हुँदै र ग) बबरमहलदेखि माइतीघरमण्डला हुँदै सुन्धारामा केन्द्रीकरण भई विशाल जनसमुदायको उपस्थितिमा जुलुस सहर परिक्रमा गरी दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा पुगेर जनसभामा परिणत हुनेछ ।
३. मङ्सिर ८ गते रत्नपार्क शान्तिबाटिकामा आयोजना गरिने जनसभामा पार्टीका तर्फबाट प्रमुख वक्ताका रूपमा पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्डले सम्बोधन गर्नुहुनेछ । सभामा पार्टीका पोलिटब्युरो सदस्यहरू र विभिन्न मित्र पार्टीका केन्द्रीय नेतारूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।
४. मङ्सिर ८ गतेको महत्व, वर्तमान अवस्थामा देखिएका समस्या, वार्तालगायत विषयमा पार्टीको नीति, दृष्टिकोण, आगामी कार्यक्रम र योजना जनसभामार्फत सार्वजनिक गरिनेछ । साथमा सामना परिवारको केन्द्रीय टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने देशभरका विभिन्न टेलिभिजन, एफएम रेडियो, अनलाइन, अनलाइन टेलिभिजन र विभिन्न सामाजिक सञ्जालहरूले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
५. राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या–हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरूको चलखेलले नेटो काटेको यो अवस्थामा हाम्रो पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल पार्न सम्पूर्ण पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजीवि, वकिललगायत सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूसमक्ष आवश्यक सहयोग र उपस्थितिका लागि हाम्रो पार्टी तथा जनसभा व्यवस्थपन तथा परिचालन समिति हार्दिक आह्वान गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]