सम्पादक चन्द गिरफ्तार, तत्काल रिहा गर्न माग

२०७५ मंसिर १२ गते, बुधबार

काठमाडौं, ११ मंसिर । पोष्टपाटीका प्रधानसम्पादक गोपाल चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । केही अघि पोष्टपाटी डटकममा प्रकाशित समाचारको विषयलाई लिएर उनलाई गिरफ्तार गरेको हो । उनलाई मंगलबार दिउँसो कार्यक्षेत्रमा खटिरहेकै समयमा कोठमाडौंको बसुन्धाराबाट गिरफ्तार गरिएको हो । चन्दलाई हाल महानगरीय प्रहरी काठमाडौं परिसर टेकुमा राखिएको छ । पत्रकार चन्दको गिरफ्तारीको पेशागत संगठनहरुले भत्सर्ना चर्दै तत्काल रिहाइको माग गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले चन्दको गिरफ्तारको भत्सर्ना गर्दै तत्काल रिहाईको माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रेले एक प्रेस विज्ञप्ति प्रकाशित जारी गर्दै समाचार लेखेकै कारण गिरफ्तार गरेर सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने काम गरेको जनाएका छन् ।
प्रकाशित समाचारप्रति चित्ता नबुझे उजुरी वा निराकरणको गर्ने निकाय प्रेस काउन्सिल रहँदारहँदै प्रहरीले जबर्जस्त हस्तक्षेप गरी गिरफ्तार गरेर प्रेस काउन्सिलको अपमान गरेको जारी विज्ञप्तिमा जनाइएको छ । ‘एउटा श्रमजीवि पत्रकारले जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दागर्दै कार्यस्थलबाटै गिरफ्तार गरिनु पत्रकारको पेशागत मर्यादामाथि हस्तक्षेप मात्रै होइन, पत्रकारिताको स्वतन्त्रताको धज्जी उडाउने काम भएको छ’ विज्ञप्तिमा भनिएको छ । यस्ता कार्य नदोहोर्याउन समेत सरकारसँग अपिल गरेको छ ।
पत्रकारलाई समाचार लेखेकै भरमा गरिएको अमानवीय हर्कतको गरिएको भन्दै भत्सर्ना गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘पत्रकारलाई समाचार लेखेकै भरमा गरिएको अमानवीय हर्कतको हामी श्रमिजीवि पत्रकारको हक, हित र सुरक्षाको अहोरात्र संघर्षरत हाम्रो संगठन क्रान्तिकारी पत्रकार संगठन घोर भत्सर्ना गर्दछ । साथै, गिरफ्तार पत्रकारको तत्काल रिहाईको लागि माग गर्दै यस्ता हर्कतहरु नदोहोरयाउन अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]