कंसकारलाई कालोमोसो , अन्य भ्रष्टाचारी कारबाहीको लिस्टमा रहेको खुलासा

२०७५ पुष २१ गते, शनिबार

काठमाडौं, २१ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचारीहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई शुक्रबार कार्यकक्षभित्रै कालोमोसो दलेको लिगले जनाएको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसाकारलाई क्रान्तिकारी युवा लिगले कारबाही गरेको छ । लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नं. प्रदेशले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि गरिएको कारबाहीको जिम्मा लिदै वाइडबडी प्रकरणका मुख्य दोषी देखिएकाले कंसाकारमाथि कारबाही गरिएको जनाएको छ । लिगको ३ नं. प्रदेशका संयोजक संकल्पले घटना लगत्तै एक वक्तव्य जारी गरी संगठनकै योजनामा निगमभित्र कंसाकारकै कक्षमा कालोमसो दली कारबाही गरेको जनाएका छन् । यस बिषयमा लिगको ३ नं. प्रदेशका संयोजक संकल्पले बुँदागत रुपमा जारी गरेको वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ– ‘क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं. प्रदेशको योजनामा आज (२०७५–०९–२० गते) नेपाल वायु सेवा निगमका भ्रष्ट महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि उनकै कार्यकक्षमा दिउँसो ४ बजे कालोमोसो दली कारबाही गरिएको छ । यस कारबाहीबारे हाम्रो संगठनको धारणा सार्वजनिक गर्न हामीले यो वक्तव्य जारी गरेका छौं ।
१. पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसाकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।
२. यतिबेला नेपालमा एकातिर साम्राज्यवादी–विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्कोतिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।
३. देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आमजनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।
४. वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्वसचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।
५. यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।
६. अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आमशोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]