अरुण तेस्रोको हाइटेन्सन लाइन निर्माण रोक्न माग

काठमाडौं , ७ माघ । नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ को हाइटेन्सन लाइन निर्माण रोक्न चेतावनी दिएको छ । उक्त निर्माण कार्यबाट घनाबस्तीलाई क्षति पुर्याउने र पर्यवरण तथा वन विनाश हुने जनाउँदै जनचाहनाविरुद्ध नजान निर्माण कम्पनीलाई पार्टीको पूर्वी कमाण्डले प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ । उक्त निर्माणले पर्यवरण मात्र नभई कटारी क्षेत्रका घना मानव बस्तीलाई नै विस्थापित बनाउने भएपछि लामो समयदेखि स्थानीयले निर्माण कार्यको चर्को विरोध गर्दै आइरहेको छ । सो अरुण तेस्रो परियोजना निर्माण सम्झौता नेपाली जनताको हितविरुद्ध र राष्ट्रियताको दृष्टिकोणले राष्ट्रघाती भएको भन्दै स्थानी स्तरबाटै नागरिक समाज, राजनीति दल, विज्ञहरुले विरोध गर्दै आइरहेको बेला त्यहाँबाट उत्पादित बिजुली भारत लैजानका लागि हाल हाइटेन्सन लाइनको भौतिक निर्माण कार्य भारतीय ठेकेदार कम्पनीले थालेको छ ।
सोही विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्ड ईन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा बिजुली पुर्याउन निर्माण गरिँदै गरेको हाइटेन्सन लाइनको काम तत्काल रोक्न चेतावनी दिएका छन् । परियोजना निर्माणमा गर्न आवश्यक लगानी, नीति र प्रतिफल सम्झौता नै देश र जनताको हितविपरीत गरिएको भन्दै नेकपाले शुरुदेखि नै विरोध गरिरहेको अवस्थामा हाइटेन्सन लाइन निर्माणको काम जबर्जस्त शुरु गरिनुले स्थानीयलाई थप आक्रोशित तुल्याइएको छ ।
देश र जनचाहनाविरुद्ध सम्झौता गरेर परियोजनालाई भारतीय कम्पनीलाई सुम्पेको जनाउँदै त्यससँगै अहिले हाइटेन्सन लाइन निर्माण जस्तो संवेदनशील विषयलाई कम्पनीकै जिम्मा छाडेर सरकारले नागरिकको अग्राधिकार र राष्ट्रियतामाथि गम्भीर खेलवाड गरेको पूर्वी कमाण्डको धारणा छ । उक्त निर्माण कार्यबाट देशको चौतर्फी अहित गर्ने मात्र नभई दलाल नेता र नीति निर्माता तथा भारतीय साम्राज्यवादलाई पोस्ने काम बाहेक केही नहुने कमाण्डको निस्कर्ष छ ।
निर्माण कार्य तत्काल बन्द गर्न र नगरेमा देशभक्त नागरिकसहितको साथ लिई पार्टीको नेतृत्वमा प्रतिकार गर्ने र संलग्नलाई जनकारवाही कमाण्ड ईन्चार्ज विरहीले चेतावनी दिएका छन् । उक्त जनघाती कार्य कुनैपनि मूल्यमा खारेज गर्ने कमाण्डले जनाएको छ । साथै निर्माण कार्यमा कोही संलग्न नहुन समेत अपिल गरेका छन् । अटेर गरी निर्माण गरेमा र संलग्न भएमा प्रतिकार गर्ने प्रष्ट पार्दै त्यसबाट उत्पन्न परिणामको सम्पूर्ण जवाफदेही सरकार र लगानीकर्ता हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
अरुण तेस्रो परियोजना सम्झौतामा गम्भीर राष्ट्रघात भएको भन्दै विरोध जारी राख्दै आएको छ । ९ सय मेगावाट बिजुली उत्पादन गर्ने सम्झौता गरिएको उक्त परियोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलजले वित्तीय व्यवस्थापन हुन नसकेको जनाउँदै पटकपटक म्याद थप गराउँदै आएको छ । यसबाट कम्पनीले बिजुली उत्पादनभन्दा परियोजना ओगटेर जलस्रोत कब्जा गर्ने षडयन्त्रको रुपमा स्थानीयले लिएका छन् । त्यसैकारण विरोधको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ ।
स्थानीय र पार्टीको चर्को विरोधका कारण परियोजनास्थलमा पुग्न असफल भएपछि गत बैशाखमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं पाँचतारे होटलबाट स्वीच दबाएर परियोजनाको शिलान्याश गरेका थिए । सोही कार्यको नेकपा पूर्वी कमाण्डले विरोध गरेको थियो । पार्टीले माथिल्लो कर्णाली, मस्र्याङदी जलविद्युत आयोजना तथा कोशी उच्च बाँधलगायत सम्झौताले राष्ट्रलाई क्षति पुर्याएको जनाउँदै विरोध गर्दै आइरहेको छ ।