‘न्याय नपाए जनअदालत जानु ‘

२०७५ माघ ९ गते, बुधबार

काठमाडौं , ९ माघ । पहिले पहिले ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उखान सुनिन्थ्यो तर अहिले न्याय नपाए जनअदालत जानु भन्ने कुरा सुनिन थालेको छ । ललितपुर कुसुन्तीको ७५ वर्षीया रमादेवी श्रेष्ठले आफुले जान अदालत वाट न्याय पाएपछि यस्तो अनुभूति गरेको बताएकी हुन् । श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनसत्ताको जनअदालतले जनतालाई न्याय दिएको भन्दै सम्पूर्ण पीडितहरूलाई जनसत्ताको जनअदालतमा जान आग्रह समेत गरेकी छिन् ।
मङ्गलबार एक पे्रसवक्तव्य जारी गर्दै वृद्धा रमादेवीले आफूले कुनै पनि सरकारी अड्डाअदालत जाँदा पनि न्याय नपाएको तर नेकपाको केन्द्रीय जनपरिषद् नेपाल, केन्द्रीय जनअदालतले आफूलाई न्याय दिएको बताएकी छिन् । वक्तव्यमा उनले भनेकी छिन्, ‘मेरो जग्गा जबरजस्ती खाइदिने सुरेश केसीविरुद्ध मुद्दा गर्ने सम्बन्धमा म वकिलमा काम गर्छु भनी पुन्यप्रसाद गौतम नाम गरेका व्यक्तिले ४ वर्षपहिले ३ लाख ३५ हजार लिएर कुनै काम नगरी फरार भै नभेटिएको र कुनै सरकारी अड्डाअदालतमा जाँदा पनि मैले न्याय पाएकी थिइनँ । त्यसपछि नेकपाको केन्द्रीय जनअदालतमा पुगेँ र मेरो न्याय विप्लव नेतृत्वको नेकपाको जनअदालतले उक्त रकम असुलउपर गरी न्याय दिलाएको हुँदा मैले उक्त पार्टी र सो पार्टीको जनअदालतलाई बधाई तथा प्रगतिको शुभकामना दिन चाहन्छु । पीडितहरूलाई न्याय माग्न जनअदालतमा जानसमेत सल्लाह दिन चाहन्छु ।’

प्रतिक्रियाहरु

[anycomment]