निर्णायक आन्दोलनमा जनताले साथ दिनेछन : पौडेल

काठमाडाैँ , १६ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला समिति अर्घाखाँची र गुल्मीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । मालारानी गाउँपालिका वडा नं. १ मा मङ्गलबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै पौडेलले नेपालमा धनी र पुँजीपति दलाल तत्वको सत्ता आएको र सर्वहारा नेपाली जनताकोे सत्ता नआएको बताउँदै सर्वहारा, उत्पीडित, जनजाति, गरिबको सत्ता ल्याउन आफूहरू निरन्तर सङ्घर्ष गर्ने बताए । उनले जनताको वास्तविक सत्ता आउँदा नेपाली जनता सुखी र समृद्ध हुने बताए । अहिलेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिएर पनि नेपाली जनतामाथि ब्रह्मलुट मच्चाएको, देशमा भ्रष्टाचार, चोरी, तस्करी, बलात्कारले सीमा नाघेर सरकारले नै संरक्षण गरेको बताउँदै नेपाली जनता क्रान्तिको निर्णायक बिन्दुमा रहेकोे उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले सम्पूर्ण क्रान्तिकारी जनसमुदाय एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी खेम खड्का, अर्घाखाँची जिल्ला इन्चार्ज कमल केसी, अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्बर पोख्रेल, लुम्बिनी ब्युरो सदस्य सामना, सुनिल चौधरीलगायत जिल्लास्तरीय नेताहरूको सहभागिता थियो । ने.क.पा.ले दुईमहिने अभियान सञ्चालन गरी भित्तेलेखन, अन्तरक्रिया, कोणसभा, पिँढीसभा, सङ्गठन निर्माण गर्दै आएको छ । दुई महिनासम्म निरन्तर रूपमा चल्ने अभियानका यात्री तथा मालारानी इन्चार्ज बालकृष्ण भलामीले बताए । अभियानमा उल्लेखनीय रूपमा जनताको सहभागिता बढ्दै गएको र एकीकृत जनक्रान्तिप्रति आशा बढ्दै गएको युवा सङ्गठनका सहसंयोजक शङ्कर शाहीले बताए ।– अनिल नेपाली