जनपरिषदद्वारा जग्गा कब्जा

काठमाडौं,२१ माघ । बर्दियामा भूमिहीन सुकुम्बासीहरुले बस्दै आइरहेकाे जग्गा भूमाफियाका चलखेलले उठिबास गराउन खाेजेपछि जनसत्ताले उक्त जग्गा कसैको हकदाबी नहुने गरि कब्जा गरेको छ । जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भू-माफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुलाई उठिबास गराउन खोजेको भन्दै जिल्लाको एक जग्गालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला जनपरिषदका प्रमुख टीकाराम थारुले माघ २० गते उक्त जग्गामा ब्यानर र झण्डा गाडेर मुनादेवी कायस्ताको नाममा बर्दियाको साविक बेलुवा ४, लखनाचोक स्थित ३ कठ्ठा १० धुर जग्गा नियन्त्रणमा लिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।
उक्त जग्गा भूमाफिया ध्रुव बस्याल र महेश्वर नाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुले २०५६ सालदेखि जोतभोग गर्दै आएको उक्त जग्गा र अहिले कथित नेपालको कानुन देखाउदै बल प्रयोग गर्दै निज कमानसिंह थारुलाई उठिबास गराउने चलखेल भएको भन्दै कब्जामा लिएको जनपरिषदका प्रमुखले जनाएका छन् । उनले भूमिहीन सुकुम्बासीहारुलाई उठिबास गराउन खोजिरहेको भन्दै भूमाफिया विरुद्ध कडा जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।