कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न अपील

२०७५ फाल्गुन ५ गते, आईतवार

काठमाडौँ, ५ फागुन । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपील गरेका छन । उनले आज एक प्रेसविज्ञप्ति प्रकाशित गर्दै सरकारले गायक पशुपति शर्माको ‘लुटन सके लुट कान्छा सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ शीर्षक जागरणमूलक गीत बन्द गराएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष लामाले सरकारको यस्तो किसिमको रबैयाको निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत भएको बताएका छन । इनले सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भ्रातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि उक्त गीतलाई अहिले यू ट्युबबाट हटाइएको ठोकुवा गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले जारी गरेको प्रेस विज्ञप्ति : “केपी–प्रचण्डको सरकार यतिबेला दुईतिहाइको कम्युनिस्ट आबरणमा दिन–प्रतिदिन देश र जनताका विरुद्ध जाइलाग्दै छ । ‘शान्ति र समृद्धि’ को भाषण गरेर नथाक्ने यो सरकारले पशुपति शर्माको ‘लुट कान्छा लुट सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको जागरणमूलक गीतमाथि जाइलाग्दै बन्द गराएको छ । सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि यो गीतलाई अहिले यु–ट्युबबाट हटाइएको छ । सरकारको यो हददर्जाको निकृष्ट रवैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । यो सरकारको अर्को निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत हो । नेपाली समाज आज विभिन्न समस्याबाट गुज्रिरहेको छ । अधिकांश समस्याका मुख्य कारक तत्व सरकार आफैँ बन्न पुगेको छ । सरकारकोे यस किसिमको रवैयाको चारैतिरबाट विरोध र भत्र्सना पनि हुँदै आएको छ । यही विरोध, भण्डाफोर र जनजागरणस्वरूप पशुपति शर्माले प्रस्तुत गीतबाट नेपाली जनताका बीचमा जुन जागरण फैलाउन कोसिस गर्नुभएको छ, त्यसको निम्ति हामी पशुपति शर्मालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमीहरूलाई कथित दुईतिहाइको दम्भमा बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको यो सरकारका विरुद्ध गीतबाट यति बोल्नु पनि साहसिक कार्य हो । यस्तो साहसिक कार्य गर्नुभएकोमा हामी उहाँलगायत यो गीतसित सम्बद्ध सबैलाई हार्दिक बधाई पनि भन्न चाहन्छौँ ।
नेपालको हरेक राजनीति परिवर्तनमा नेपालका लेखक, साहित्यकार तथा कलाकारहरूले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिंदै आउनुभएको छ । महान् जनयुद्धमा कलाकारहरूको अत्यन्त महत्वपूर्ण भूमिका थियो । जनयुद्धको दौरान कैयौँ कलाकारले बलिदानको कोटा पनि चुक्ता गर्नुभयो । जनविरोधी शासनव्यवस्था अस्वीकार गरेकै भरमा कवि कृष्ण सेन ‘इच्छुक’ लाई सत्ताले महेन्द्र पुलिस क्लबमा कुटीकुटी हत्या गरेको थियो । जनआन्दोलनको दौरानमा सहरका कलाकारहरूले सडकमै उत्रिएर परिवर्तनको स्वर घन्काउनुभएको थियो । ती कलाकारको जुन बलिदान, जुन परिवर्तनको स्वरले वर्तमान सरकार सत्तासीन हुन पुगेको छ, आज तिनै कलाकारलाई यो सरकार दुश्मन ठानिरहेको छ । यो आश्चर्यको विषय हो ।
कुनै पनि देशका न्यायप्रेमी तथा स्वतन्त्रताप्रेमी नागरिक खराब शासक र खराब व्यवस्थालाई स्वीकार्न बाध्य छैनन् । कलाकारले गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रोक लगाउनु सरासर फासिवादी चिन्तनको उपज हो । यसले सरकार जनताको कुरा सुन्न तयार छैन भन्ने कुरालाई नै प्रमाणित गर्दछ । जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयम् सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बन्न पुगेको छ । आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न गम्भीर मोडमा पुगेको त छँदै छ, सरकार जनताका लेखक, साहित्यकार तथा कलाकारलाई खतरनाक दुश्मन ठान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिएको छ । पशुपति शर्मा र उहाँको उक्त गीतमाथिको प्रतिबन्धलाई हामीले फासिवादी प्रकरणको निरन्तरताको नयाँ परिघटनाका रूपमा लिएका छौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गरेको छैन, यसले इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको छ । हाम्रो सङ्गठन जनताका आवाज–भावना मुखरित गर्ने कुनै पनि कलाकार र तिनका सिर्जनकर्ममाथि हुने दमनको विरुद्ध उभिन चाहन्छ, प्रतिरोध गर्न चाहन्छ । जनताका आवाज मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु अत्यन्त निन्दनीय छ । यसर्थ, हामी जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपील गर्दछौँ, अन्यथा हामी यो सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ, जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ”

प्रतिक्रियाहरु

[anycomment]