सत्तारूढ नेकपामा चर्को विवाद

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय गर्दै कार्यदल भंग गरेको हो ।कार्यदलप्रति प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै आएका थिए । तर साे निर्णयकाे नेता माधव नेपाल पक्षधरले भने बिराेध गरेका छन् । कार्यदल भंग भएसँगै नेपाल पक्षधर नेताहरुले लिखित असहमति बुझाउने तयारी गरेकाे बुझिएकाे छ । आजकाे बैठकमा नै कार्यदल विघटनप्रति वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले फरक मत राखेका थिए ।
बिहिवारकाे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कार्यदल भंगको प्रस्ताव राखेका थिए । पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै अध्यक्ष ओलीले सचिवालय बैठकमा कार्यदल विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए । यद्यपि, बहुमत सचिवालय सदस्यहरु भने कार्यदललाई एक साताको समय दिनुपर्ने पक्षमा थिए । कार्यदलको संयोजकमा रामबहादुर थापा थापा थिए भने सदस्यहरुमा विष्णु पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल रहेका छन्