एनसेल मुख्यालयमा विस्फोट एकको मृत्यु

काठमाडौं, ११ फागुन । एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । ललितपुर नक्खुस्थित मुख्यालयमा बम विष्फोटवाट गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका बम विष्फोट भएको थियो ।
यता, काठमाडौँको कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।
एनसेलको मुख्यालयको बम विस्फोटमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका गार्ड हुन् । उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीकाअनुसार मोटरसाइकलमा आएका केही व्यक्तिहरू गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए । ती दुवै सुरक्षा गार्ड यसअघि सेनामा काम गरेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बम विस्फोटबाट घटनास्थल वरपरका तीन घरका झ्याल र ढोकाका सीसा पूर्णरूपमा फुटेका छन्।
पोखरा महानगरपालिका अन्तरगर्त लेखनाथ डाडाँनाक स्थित रहेको एनसेलको टावरमा आज मध्यरातमा अज्ञात समुहले आगजनी गरेको छ । हिजो साझ एनसेलको केन्द्रिय कार्यालयमा भएको पहिलो विस्फोट पछी यो आगजनी भएको हो।
डाडाँनाक इलाका प्रहरी कार्यालय नजिकै यस्तो कार्य भए पनि प्रहरीले भने सुईको समेत पाएन । प्राप्त स्रोत अनुसार देशै भर भएको एनसेल माथीको आक्रमण बिप्लव नेतृत्वको नेकपाले गरेको जनाएको छ। केही समय अगाडी विप्लव नेतृत्वको नेकपाले एनसेलले राज्यलाई बुझान पर्ने अरवौ कर नतिरेको भन्दै देशैबाट निकाला गर्ने भन्दै सघर्षका कार्यक्रमहरु गर्दै आइ रहेका थिय । प्राप्त जानकारी अनुसार डाडा नाक मा आगजनी भएको टावर पुर्ण रुपमा ध्वस्त भएको छ । यस्तै यता रुपन्देही, नवलपरासी, काभ्रे, बाग्लुङ, सिन्धुपाल्चोक लगायत दर्जन बढी ठाउँमा एकैपटक शक्तिशाली आक्रमण भएको बुझिएको छ ।