विद्यार्थी नेतालाई झुठा मुद्दामा फसाउने प्रपन्च

२०७५ फाल्गुन ११ गते, शनिबार

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई भूmठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको छ । कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई गत माघ १७ गते विराटनगर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । संगठनले आयोजना गरेको विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा विश्वकर्मालाई पक्राउ गरिएको हो । पछिल्लो समय अखिल क्रान्तिकारीले कर असुली, भ्रष्टाचार नियन्त्रण र शैक्षिक माफियाविरुद्ध आन्दोलन चर्काउँदै आएको छ । अखिल क्रान्तिकारीको यस्ता जनपक्षीय कामबाट अत्तालिएर सरकारले उनलाई पक्राउ गरेको अखिल क्रान्तिकारीको ठोकुवा छ ।
यसैबीच, प्रहरीले कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई झुठा मुद्दामा फसाउने तयारी गरेको बुझिएको छ । विश्वकर्मालाई फसाउन सुनियोजित रुपमा हातहतियार र खरखजाना मुद्दा सिर्जना गरिएको अखिल क्रान्तिकारीका एक नेताले बताए । यसरी शान्तिपूर्णरुपमा जनपक्षीय कार्यमा लागिरहँदा आफ्ना नेतालाई झुठा मुद्दामा फसाए त्यसको नतिजा गम्भीर हुने उनले चेतावनी दिए ।
कोषाध्यक्ष विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा हुन् । सरकारले राजनीतिक प्रतिशोध साँध्न उनका छोरालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउन खोजेको र यो स्वयम् सरकार र सत्तासीन दललाई आत्मघाती हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]