‘नेता–कार्यकर्ता रिहा नगरे सशक्त आन्दोलन ‘
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई बिनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने र उक्त आन्दोलनबाट निस्कने परिणामको जिम्मेवार स्वयं यो सत्ता हुने चेतावनी दिएका छन । महासचिव विप्लवले फागुन १५ गते बुधबार एक विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । उनले विज्ञप्तिमा भनेका छन् “एनसेल माथि भएको भनिएको कारबाही प्रकरणको नाममा यो सामाजिक फासिवादी सरकारले देशैभरीबाट हाम्रो पार्टी, जनवर्गीय सङ्गठनका नेता-कार्यकर्ताहरुलाई भटाभट गिरफ्तार गरेर सार्वजनिक अपराध जस्ता उनीहरुकै कानून र संविधान विपरित मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिइरहेको छ । यो सरकारका यस्ता दमनकारी क्रियाकलापको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै सबै नेता-कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।
यो राज्यले हाम्रो देश र जनतालाई कङ्गाल बनाउने भ्रष्टाचारी, घुसखोरीमाथि कारबाही गर्नुको साँटो उनीहरुको संरक्षण गरिरहेको अवस्थामा भएका कारबाहीलाई सही ठहराउनुको सट्टा झनै दमनको भाषा बोलेर उ आफूपनि झन भ्रष्ट, घुसखोरी र कालाबजारी भएको प्रमाण दिइरहेको सन्दर्भमा यसरी गिरफ्तार गरिएका अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, बच्ची यादव, युवा नेता सूर्य भुजेल, मानबहादुर तिरुवा, महावीरलगायतका विद्यार्थी नेताहरुलाई तुरुन्त बिनासर्त रिहा नगरे हाम्रो पार्टी सशक्त आन्दोलन गर्न बाध्य हुनेछ ।” 
