बन्दका कारण राप्ती क्षेत्रकाे जनजीवन ठप्प
काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण राप्ती क्षेत्रकाे जनजीवन प्रभावित भएकाे छ । आज बिहानैदेखि साे क्षेत्रमा सवारि साधन सन्चालनमा आएका छैनन् भने कलकारखाना र शैक्षीक संस्था पनि ठप्प छ । गिरफ्तार भएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उसले राप्ती बन्दको आह्वान गरेको जनाएको छ
राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन ।
फागुन २० गते रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
