प्रकाण्डको गाउँमा सेनाको गस्ती

काठामाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गाउँ कालिकोटको मालकोटमा नेपाली सेनाले गस्ती शुरु गरेको बताइएको छ । स्थानीयक अनुसार सल्लारुख टोलमा सेनाले गस्ती गरेको हो । गस्ती टोलीले स्थानीय विद्यालयहरुमा पुगेर ने.क.पा.का नेता कार्यकर्ताबारे आए नआएको र गतिविधिबारे सोधपुछ गर्ने गरिएको एक स्थानीयले जानकारी दिएका छन् । जनपथ प्रहरीले पूर्वको मोरङ, लुम्बिनीको कपिवलवस्तु, राप्तीको दाङ, रोल्पालगायत जिल्लामा अघोषित सर्च अपरेसन चलाइरहेको बेला मालकोटमा भने सेनाले नै पोशाकमै गस्ती गरेको हो । यसबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी कालिकोटका सीडीओ चन्द्रबहादुर कार्कीले सेनाले गस्ती गरेको भन्नेबारे आफूलाई थाहा नभएको बताए । ‘यसमा खास के रहेछ, बुझेर भनौँला’ उनले भने । जिल्लामा सुरक्षा समितिका प्रमुख सीडीओ रहने र जिल्लामा सेना परिचालन गर्ने नगर्नेबारे निर्णय समितिले गर्ने व्यवस्था छ । सेना प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले सेनाले नियमित रुपमा गर्दै आएको पेट्रोलिङ मात्र भएको बताएका छन् । ‘सेनाले नियमित तालिमका क्रममा गरिने ट्रेनिङको पार्ट हो त्यो’ मिर्मिरे अनलाइनसँग कुरा गर्दै प्रवक्ता ढकालले भने ‘सेनाको वार्षिक क्यालेन्डर अनुरुप ब्यारेक, गुल्महरुले त्यो गरेका हुन्छन्, यो अहिले मात्र होइन, सधैं नै हुन्छ ।’ विप्लव ने.क.पा.सँगको गतिविधिसँग अहिलेको गस्ती कुनै सरोकार नभएको पनि उनले प्रष्ट पारे ।