गिरफ्तार सर्वसाधारणलाई भेट गर्न नदिएकोमा आपत्ति, यथार्थ पत्ता लगाउन मानवअधिकारवादीलाई आव्हान

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टी कार्यकर्ताको नाममा सर्वसाधारण जनतालाई गिरफ्तार गरी आफन्त र मानवअधिकारवादी समेतलाई भेटघाट गर्न नदिएको तथा गिरफ्तारीको बारेमा मौन बसेकोमा घोर आपत्ति जनाउंदै मानवअधिकारवादी संघ संस्थाहरुलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्य तथ्य बाहिर ल्याउन अनुरोध गरेको छ । ने क पा का कास्की इन्चार्ज रुपेश्ले एक प्रेस बिज्ञप्ति जारी गर्दै मानव अधिकारवादी संघ संस्थासंग यस्तो अनुरोध गरेका हुन् । उनले आफ्नो विज्ञप्तिमार्फत केही दिन अघि सार्दिखोलाका साना व्यापारी उमराज बास्तोला, खुदीखोलाका किसान गणेश अधिकारी, मजदुर व्यबसायी खड्क राई ,मझुवाबस्तीबाट टोलबारे छलफलको क्रममा रहेका जनता मन बहादुर तमु लगायत ७ जनालाई गिरफ्तार गरेको जानकारी दिंदै संकटकालको जस्तो आफन्त र मानवअधिकारवादीसम्मलाई भेटघाट गर्न तथा गिरफ्तारबारे सुचनाको हकमा बन्देज लगाएकोमा आपत्ति प्रकट गरेका छन् ।
नेपालमा विगतमा भन्दा दलाल संसदीय व्यबस्था झनै बदनाम र नग्न बन्दै गएको अवस्थामा पछिल्लो समय अर्वौका घोटलाकाण्डहरु -चुडामणि शर्मा र करछली प्रकरण, लोकमानसिंह कार्की को नियुक्ति प्रकरण र कालोमोसो ,बुढी गण्डकी, आयल निगम र गोपाल खडका भ्रष्टाचार काण्ड, गोपाल पराजुली सर्वोच्च अदालत र ऐनसेल प्रकरण, चिनीकाण्ड, देशभर स्थानीय तहमा भएको भ्रष्टाचार , वाईडबडी घोटला काण्ड, निर्मला पन्त बलात्कार र हत्या प्रकरण, लगायतका लुटका विरुद्ध, जनघात र राष्टघातका विरुद्ध आफ्नो पार्टी संघर्षरत रहेको त्यस विज्ञप्तिमार्फत उनको दाबी छ ।
कथित कम्युनिष्ट सरकारका दलाल एवम् ठेकेदार वर्तमान केपी पिके गठवन्धनले आफ्नो बदनाम र सरकारप्रतिको जनआक्रोस मथ्थर पार्न नेपाल कम्युनिष्ट पार्टी र यसको शान्तिपूर्ण कार्यक्रममाथि बन्देज लगाएर फाासीवादी दमनचक्र चलाएको उनको आरोप छ । नेपालको वर्तमान सामाजिक दलाल पुजीवादी सरकार र जनविरोधी दलाल पुजीवादी राज्यसत्ता हत्या, दमन, गिरफ्तारी, झुट्टा मुद्दा र राज्य आतंकको सहारामा टिक्न खोजेको टिप्पणी गर्दै त्यो सम्भव नभएको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ल सो बिज्ञप्तिमा बिश्वमै असफलसिद्ध संसदीय ब्यवस्थाको सट्टामा नेपाल र नेपाली जनतालाई सुहाउदो र नेपाली जनताको शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि निरन्तर संघर्ष गर्दै आएको आफ्नो पार्टीले बैज्ञानिक समाजबाद स्थापना गर्ने उद्देश्यका साथ अभियान संचालन गरिरहेको उल्लेख छ ।
शान्तिपूर्ण सभा सम्मेलनमा गरिएको बन्देज, राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने,े धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने जस्ता राज्य आतंक लगायतका फासीवादी कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले यही फागुन ३० गते नेपाल बन्द को आब्हान गरेको जानकारी दिंदै सो बिज्ञप्तिमार्फत बन्दप्रति सहयोग एवम् ऐक्यबद्धता जनाउन उद्योगी ब्यवसायी ,देशभक्त नागरिक, शैक्षिक संस्थाका संचालकहरु, यातायात व्यवसायी, निर्माण व्यवसायी , पत्रकारहरुसंग अनुरोध पनि गरिएको छ l