‘फासीवादी सरकारले प्रतिबन्धको घोषणा गरेर महंगो निर्णय गर्यो’

२०७५ फाल्गुन २९ गते, बुधबार

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान ओली सरकारलाई ‘फासीवादी’को संज्ञा दिँदै मंगलबारको क्याबिनेट बैठकले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर महंगो निर्णय लिएको बताएको छ । ने.क.पा.का पोलिट ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले शान्तिपूर्ण तरिकाले राष्ट्रिय स्वाधीनता र जनताको पूर्णअधिकारको लागि राजनीतिक संघर्ष संचालन गरिरहेको बेला हठात रुपमा प्रबतिबन्ध लगाउने र अपराधिक संगठन घोषणा गरेर निकै महंगो निर्णय लिएको बताए । निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् । ‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी ने.क.पा.माथि प्रतिबन्ध लगाउने आजै निर्णय गरेको छ, यसबाट प्रष्ट रुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पुर्यायो’ मिर्मिरे अनलाइनसँग कुरा गर्दै नेता जबस ईन्चार्जसमेत रहेका नेता जीवन्तले भने ‘यसबाट सरकार पार्टीमाथि दमनमा उत्रने बाटो खुलेको छ, अब पार्टीले कडा प्रतिवाद गर्छ ।’
अब राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ ? भन्ने प्रश्नमा अब सरकारले गम्भीर षडयन्त्रमाझ् जबर्जस्त मुलुकलाई द्वन्द्वमा हाल्यो, राष्ट्रवादी र देशभक्त शक्तिहरु मिलेर यसको कडा सशक्त प्रतिवाद गर्नुको विकल्प छैन’ उनले भने । प्रतिवादको नेतृत्व ने.क.पा.ले गर्ने समेतउनले स्पष्ट पारे ।
तपाईहरुमाथि बोलाउँदा वार्तामा नआएको, विष्फोट र हत्या तहसम्मको आरोप लगाएर ‘अपराधिक संगठन’को रुपमा व्याख्या गरियो नि, अब के हुन्छ? भन्ने जिज्ञासामा जीवन्तले भने ‘यस्ता निर्णय केही फरक पर्नेवाला छैन । हामी मात्र हौं देश र जनतालाई माया गर्ने, स्वाधीनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउने लक्ष्य र उद्देश्यसाथ राजनीतिक क्रान्तिमा लागिरहेको शक्ति । अब सरकार कसरी अगाडि आउँछ त्यही अनुसार पार्टीले निर्णय लिन्छ ।’ सरकारले यो निर्णय आफ्नो बुद्धि विवेकले मात्र नभएको भन्दै निर्णयको चर्को मूल्य चुकाउनु पर्ने चेतावनी समेत उनले दिए । तपाईहरुको गतिविधिले सरकारले सोचेको विकास र निर्माणको ढोका बन्द भयो भन्ने आरोप लगाइएको छ, यसबारे के भन्नुहुन्छ ? भन्ने अर्को जिज्ञासामा नेता जीवन्तले ‘एउटा राजीनितक पार्टीमाथि षडयन्त्रपूर्वक अपराधिक संगठन भएको निस्कर्ष निकालेर प्रतिबन्ध लगाउँदैमा अब चाहिं के विकास निर्माणको ढोका खुल्छ त ? झुठा र भ्रामक तर्क हो यो । बरु अब सरकार आफैंले देशका ७ सय ५३ वटै स्थानीय तहकै ढोका पो बन्द गरिदिएको छ । यसमा हामीलाई दोषी बनाउने अर्को गल्ती सरकारले गर्दैन भन्न सकिन्न’ भने ।
ने.क..पा.को परिवर्तनकारी राजनीतिक कार्यक्रम र त्यसप्रति देशैभरबाट भइरहेको जनताको समर्थनको लहरबाट आतिएर सरकारले ने.क.पा.लाई राजनीतक गतिविधि गर्नै नदिने प्रतिक्रियावादी सोचले प्रतिबन्ध लगाउने निर्णय गरेको उनको धारणा छ । सरकारले जनतामा छरेको भ्रम चिर्ने र बिनकारण झुठा मुद्दा लगाएर जेल र हिरासतमा राखिएका हाम्रा नेता कार्यकर्ताहरुको रिहाईको लागि सशक्त संघर्ष जारी राख्ने पनि उनले बताए ।
आउँदो ३० गते बिहीबार ने.क.पा.ले घोषणा गरेको नेपाल बन्दलाई सशक्त र सफल तुल्याउन पनि उनले सबैसँग अपिल गरे ।

प्रतिक्रियाहरु

[anycomment]