विप्लव सिद्धान्तनिष्ठ नेता : डा.दीक्षित

काठमाडौं, ७ चैत । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेकपाका महासचिव विप्लव सिद्धान्तनिष्ठ नेता भएको बताएका छन् । जनयुद्धबाट आएका धेरै नेताहरु संसदीय व्यवस्थामा विलय भइसक्दा विप्लव मात्र एउटा क्रान्तिकारी नेता बाँकी रहेको डा.दीक्षितको भनाई छ । दश वर्षे जनयुद्धमा नागरिक समाजको अगुवाको रुपमा महत्वपूर्ण भूमिका खेलेका दीक्षितले प्रचण्ड बाबुरामहरु कांग्रेस र एमालेसँग सम्झौतामा झुकेर जाँदा विप्लव मात्र नगएको बताए ।
तत्कालीन माओवादी र संसदवादीबीच विस्तृत शान्ति सम्झौतालगायत तमाम थुप्रै कुरामा माओवादीमाथि अन्यायपूर्ण व्यवहार भएका कारण आज विप्लवले आन्दोलनको बाटो समाउनु पर्ने बाध्यात्मक परिस्थिति आएको दीक्षितको भनाई छ । केपी ओली सधै माओवादीविरोधी भएकोले उनलाई विप्लव नेकपा मन नपर्नु स्वभाविक भएपनि प्रचण्ड र बादलजस्ता नेताहरु जो हिजो सँगै जनयुद्धमा लडेकाहरुले अहिले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको भन्दै डा दीक्षितले त्यसको विरोध गरे । केपी ओली सरकारले हतारमा विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेर युद्धको आमन्त्रण गरेको भन्दै अब आउने सबै खराब परिणामको जिम्मेबार ओली सरकार नै हुने नागरिक अगुवा दीक्षितको भनाई छ ।