नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध, सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं, १० चैत । सरकारले गत फागुन २० गते औपचारिक निर्णय गरी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । शान्तिपूर्ण रुपमा देश र जताको पक्षमा संघर्ष गर्दै आइरहेको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि यसको चौतर्फी विरोध भएकोछ । सत्तासीन दलका नेताहरुले समेत सरकारको यस कार्यको निन्दा गरेका छन् । उनीहरुले नेकपामाथि प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको ठोकुवा गरेका छन् । सत्तापक्षीय नेकपाका नेता माधव नेपाल, भीम रावल, देवेन्द्र पौडेललगायत दर्जनौँ नेताले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको खुलेरै विरोध जनाएका छन् । उता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध सरकारलाई घातकसिद्ध हुने चेतावनी दिइसकेका छन् । नेपाली काँग्रेसले औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा देश अस्थिरतातिर जाने भन्दै सरकारको यस किसिमको कार्यशैलीको कडा निन्दासमेत गरेको छ ।
यसैगरी, कवि, कलाकार, बुद्धिजीविलगायतले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको कडा विरोध गरिरहेका छन् । उनीहरुले कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् सरकारको यस कार्यको विरोध गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको चौतर्फीरुपमा आलोचना भएपछि सरकार झस्किएको छ । देशमा राष्ट्रहित र जनहितको काम गर्न नसकिरहेको आरोप खेपिरहेको सरकारले देश र जनतालाई केन्द्रभागमा राखेर शान्तिपूर्ण संघर्ष गर्दै आएको र त्यसमा आमसचेत नागरिकको साथ र सहयोग दिनप्रतिदिन बढ्दै गएको देखेर सरकारले आत्तिएर नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको राजनीतिक विश्लेषकहरु बताउँछन् । सरकारको यो कार्य स्वयम् उसका लागि आत्मघाती हुने र नेपाल कम्युनिस्ट पार्टीलाई फाइदाजनक हुने उनीहरु ठोकुवा गर्छन् ।
यसरी प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा सबै राजनीतिक दलका नेताहरु, कवि, कलाकार र बुद्धिजीवि खडा भएपछि सरकारलाई संकट भएको छ । यसै सन्दर्भमा एक राजनीतिक विश्लेषक भन्छन्– सरकारलाई नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध निल्नु न ओकल्नु भएको छ । सरकारले यो गल्ती सच्याएर नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता लिनैपर्छ, अन्यथा यही कारणले सत्तापक्षीय दल र सरकार संकटमा पर्ने निश्चित छ ।”