बारा र पर्सामा हावाहुरी, ३२ जनाको मृत्यु , सयौ घाइते

काठमाडाैं, १८ चैत । हिजो साँझ बारा र पर्साका जिल्लामा एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय प्रशासनले जानकारी दिएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् । प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएका छन् । गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ । बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ । अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएका कारण भुइमै राखेर उपचार थालिएको छ ।
यसैबीच ,प्रदेश नं २ को मन्त्रिपरिषद्ले आईतवार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् ।
उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’
त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए ।