जनताले फेरि बन्दुक उठाउन सक्ने !

काठमाडौँ, २४ चैत । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परेको खण्डमा जनताले फेरि बन्दुक उठाउन सक्ने चेतावनी दिएका छन् । उनले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको ठोकुवा समेत गरेका छन । २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आयोजित विशाल जनप्रदर्शन तथा पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव किरणले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुले एकताबद्ध भएर बन्दुक उठाउनेसम्मको हिम्मत गरे पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिने बताएका हुन् । जनसभालाई सम्बोधन गर्दै महासविच किरणले क्रान्तिकारी कम्युनिस्टहरु, राष्ट्रवादी शक्तिहरु र प्रगतिशील शक्तिहरु एकताबद्ध भएर संघर्षको प्रक्रियालाई अगाडि बढाउने हो भने ओली नेतृत्वको दुई तिहाइ सरकार मात्रै होइन राणा शासनदेखि कायम रहँदै आएको पुरानो सत्ता तथा व्यवस्था पल्टाउन सकिने दावी गरेका हुन् ।
महासचिव किरणले भने, “अहिले जनआन्दोलन, सडक आन्दोलन अगाडि बढाउने हो । तर आवश्यक प¥यो भने बन्दुक पनि उठाउनु पर्दछ । डराएर हुँदैन । न्याय र अधिकारका लागि बन्दुक उठाउनु जनताको अधिकारको विषय हो । बन्दुक उठाउने हिम्मत गर्ने हो भने सत्ता पल्टाउन सकिन्छ ।”
चैत्र २४ जनआन्दोलन उत्कर्षमा पुगेको दिन भएको र धोका र गद्दारीका कारण आन्दोलनहरु असफल हुन पुगेको चर्चा गर्दै विगतका सकार र नकार पक्षबाट पाठ सिक्दै आफूहरु अगाडि बढ्न खोजेको स्पष्ट पारे ।
मोर्चाको सम्मेलनलाई शुभकामना दिंदै कमरेड किरणले भने, “सहि विधान, प्रतिवेदन र सक्षम नेतृत्व निर्माण गर्न, राष्ट्रियता, जनतन्त्र र जनतन्त्रका लागि सशक्त रुपमा आवाज उठाउन र क्रान्ति गर्नका लागि उत्पीडित वर्ग र उत्पीडित जनसमुदायको एकता कायम गरी आन्दोलनको नयाँ मोर्चा खोल्न सान्दार रुपमा अगाडि बढोस् क्रान्तिकारीर्वहारा वर्गको नेतृत्वमा सबै वर्ग र उत्पीडित जनसमुदायलाई गोलबन्द गर्दै आन्दोलनको नयाँ मोर्चा बनाउने र सत्ताको लागि सशक्त संघर्षको उठान गर्ने विषयमा मोर्चाको यो सम्मेलन सान्दार रुपमा सफल रहोस् ।” महासचिव किरणको भनाइ थियो– “अब सत्ता विना अरु कुरा गरेर काम छैन ।”
वर्तमान सरकार कम्युनिस्ट नभएर कम्युनिस्टको बदनाम गर्ने सरकार भएको र यसले दलाल, नोकरशाह, सामन्तवर्गको प्रतिनिधित्व गरेको र साम्राज्यवादी तथा विस्तारवादीहरुको हित संरक्षण गर्ने काम गरेको बताउँदै महासचिव किरणले भने, “मानवीय र प्राकृतिक स्रोत साधन विदेशीलाई बेचेर समृद्ध नेपाल र सुखी नेपालीको नारा फलाक्नु जनतालाई बेवकुफ बनाउनु मात्र हो, त्यो सम्भव हुने कुरै होइन । यस्तो कुरा गर्नेहरु लफ्फाजी हुन् । देशलाई समृद्ध पार्न त स्वदेशी मानवीय तथा प्राकृतिक साधन स्रोतलाई पहिलो प्राथमिकतामा राखेर सदुपयोग गर्नु पर्दछ । त्यो हुन यो सरकारबाट सम्भव नै छैन ।”
“राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान गर्न यो सरकार र व्यवस्थाबाट सम्भव छैन, त्यसका लागि वैकल्पिक शक्ति चाहिन्छ । त्यो वैकल्पिक शक्ति भनेका हामी हौं । हामी भनेको क्रान्तिकारी माओवादी हो, देजमो हो, अन्य क्रान्तिकारी शक्तिहरु हुन्, देशभक्त तथा राष्ट्रवादी शक्ति हुन् ।”
“वर्गीय र जातीयका विषयमा सबै कम्युनिस्ट क्रान्तिकारीहरु स्पष्ट हुन जरुरी छ । सच्चा कम्युनिस्टहरु वर्गको भूमिकाका साथै सबै जात जातिहरुलाई मिलाएर लैजानु पर्दछ भन्नेमा स्पष्ट हुन जरुरी छ । उत्पीडित वर्ग र उत्पीडित जनसमुदायलाई एक ढिक्का बनाएर नै अबको लडाइँ जित्न सकिन्छ । दशवर्षको जनयुद्धको तागत पनि यही हो, थियो ।”
पार्टी एकताका लागि सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिसँग निकै मिहनेत गरिरहेको खुलासा गर्दै महासचिव किरणले एकताका लागि खुल्ला भएर छलफल बहस हुन जरुरी रहेको बताए । उनले भने, “पार्टी एकताका लागि धेरै मिहिनेत गरिएको छ । आफ्नो बाहेक अरुको कुरा सुन्नै नचाहने प्रवृत्ति छ साथीहरुमा । साँचो अर्थमा क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउनै पर्दछ । इतिहासबाट पनि शिक्षा लिनु पर्दछ । सत्प्रशित ठिक ठाक पारेर मात्र एकता हुँदैन, मिल्ने कुराहरु मिलाउँदै जाने र नमिलेका कुराहरुलाई पार्टीभित्र फोरम चलाएर हल गर्दै जानु पर्दछ । एकतामा आउनुहोस्– विप्लवजी, किरातीजी, आहुतीजी सबै आउनुस् । मोहन विक्रमजी पनि त्यहाँ अर्कै खिचडी पकाएर नबस्नुस्, आउनुस एकता गरौं । एकताका लागि सबैले सबैतिरबाट पहल गरौं । यस विषयमा हामी गम्भीर छौं ।” उनले भने, “अवसरवादीहरु एकताबद्ध भइसकेका छन्, अब क्रान्तिकारीहरु पनि एकताबद्ध हुनु पर्दछ । क्रान्तिका गफ गरेर मात्रै बस्ने कम्युनिस्ट भयो भने काम लाग्दैन ।”
उद्घाटन समारोहको सभापतित्व आसन ग्रहण गर्दै मोर्चाका अध्यक्ष सीपी गजुरेलले अब संघीय जनगणतन्त्रको लडाइँ सुरु भएको बताएका छन् । अध्यक्ष गजुरेलले चैत्र २४ गते ऐतिहासिक दिन भएको हुँदा विगतका आन्दोलनहरु यही दिनमा उत्कर्षमा पुगेर पञ्चायती व्यवस्थाको पतन भएको भन्दै यस ऐतिहासिक दिनमा ‘जनगणतन्त्रका लागि लडाइँको उद्घोष गर्दछौं भने । विचार राजनीतिले मात्र परिवर्तन सम्भव छैन, त्यसका लागि बल प्रयोगको सिद्धान्त अँगाल्नै पर्नेतर्फ जोड दिंदै अध्यक्ष गजुरेलले ओली सरकारको मात्र होइन यो पुरानो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला आएकोले संघर्षका लागि तयार रहन जनसमुदायलाई अपील समेत गरे ।
सम्मेलनलाई शुभकामना दिंदै नेकपा (माले)का महासचिव सिपी मैनालीले नयाँ जनवादी क्रान्ति अझै पूरा नभएको भन्दै त्यसका लागि नेपालको भूराजनीतिक स्थितिलाई विश्लेषण गर्दै सही नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी नेकपा (माके)का अध्यक्ष गोपाल किरातीले मोर्चाले उद्घोष गरेको आन्दोलनका कार्यक्रमप्रति आफ्नो पार्टीको पूर्ण ऐक्यबद्धता रहने भन्दै क्रान्तिकारीहरुको एकतामा जोड दिए ।
वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतीले अबको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने विषयमा गम्भीर बहसको आवश्यकता रहेको कुरामा जोड दिंदै त्यस्तो बहसका लागि कमरेड किरणले नेतृत्व गर्नुपर्ने कुरामा जोड दिए ।
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले जनगणतन्त्र कार्यनीतिक विषय बनाउने स्थिति भइसके वा नसकेको विषयमा पर्याप्त छलफल गर्नुपर्ने कुरामा जोड दिए ।
नेकपाका सचिवालय सदस्य रत्न जोशीले वर्तमान सत्ता र व्यवस्थाका विरुद्ध कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर संघर्ष गर्नुको विकल्प नरहेको कुरामा जोड दिए ।