पत्रकार महर्जनलाई तत्काल रिहा नगरे आन्दोलन

काठमाडौं , २८ चैत । जनपत्रकार संगठन नेपालले सो संगठन काठमाडौंका जिल्ला संयोजक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न अपिल गरेको छ । पत्रकारलाई बैचारिक आस्थाकै कारण गिरफ्तार गरीएको भन्दै उनलाई तत्काल रिहा नगरे संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकारले लेख्ने कलमसँग सरकार आतंकित भएको भन्दै पत्रकारहरुलाई मानसिक तनाब दिने र अनावश्यक दुख दिने काम तत्काल बन्द गर्न भनिएको छ । विज्ञप्तीमा ‘पत्रकारहरुले लेख्ने कलमसँग राज्य यति धेरै आतंकित बनेको छ कि पत्रकारको आस्था र विचारकै कारण अनावश्यक रुपमा धरपकड गर्ने तथा गिरफ्तारी गर्र्ने गरिराखेको छ । राज्यले पछिल्लो समय हाम्रो संगठनका केही साथीहरुलाई मिडियाको कार्यालयबाटै देखी कार्यक्षेत्रमा खटिरहँदा गिरफ्तार गर्ने गरेको छ, सरकार र राज्यका अंगहरुलाई पत्रकारमाथी गरिएको यस्तोखाले दमन र हस्तक्षेप तत्काल रोक्न चेतावनी दिन चहान्छौं । राज्यले चौथो अंगको रुपमा परिभाषित गरेको मिडिया र मिडियाकर्मीहरुको भूमिका अवश्यपनि राज्यलाई सुझावसहितको रचनात्मक आलोचना गर्छन्, हाम्रो संगठनमा आस्थावान साथीहरुको भूमिका पनि त्योभन्दा कुनै पूर्वाग्रह छैन अझ यसभन्दा एक कदम अगाडी बढेर राज्यसँग विमती भएकाहरु, विद्रोहको आवाज उठाईरहेकाहरु, राज्यको पहुँचभन्दा टाढा रहेका जनताहरुलाई जनपक्षीय पत्रकारिताको माध्यमबाट राज्यसँगको सम्बन्ध विस्तार गरेर शान्तिपूर्ण माध्यमबाट राज्यस्तरका समस्याहरुलाई हल गर्न रचनात्मक भूमिका खेलेको छ ।’ भन्दै तत्काल रिहा नगरे आगामी संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिईएको छ ।