महानगरलाई अल्टिमेटम, वैशाखभित्र खुलामंच खाली नगरे जनकार्वाही !

२०७६ बैशाख १४ गते, शनिबार

काठमाडौं, १४ बैशाख । नेकपा क्रान्तिकारी माओवादीले खुलामंचलाई वैशाखभित्र खाली नगरे जनकार्वाही गर्ने चेतावनी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सहिद मञ्च कब्जा गरिएकोप्रति कडा विरोध गर्दै सरकार र महानगरपालिकालाई बैशाखभित्र सहिदमञ्च खाली गराउन अल्टिमेटम दिएको छ ।सहिद मञ्च जनताले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ भएको भन्दै त्यो मोर्चालाई सह्य नहुने र बैशाखभित्र खाली नगरिए जनता आफैले प्रत्यक्ष कारबाहीद्वारा खाली गराउने चेतावानी दिइएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले ‘सहिद मञ्चलाई मुक्त पारौं !’ भन्ने शीर्षकमा शुक्रबार वक्तव्य जारी गर्दै यस्तो अल्टिमेटमसहितको चेतावानी दिएका हुन् ।
वक्तव्यमा भनिएको छ- “के.पी. ओली सरकारले १४ महिना पुरा भएको खुसियाली मनाइरहेको बेला सरकारमा भएका कमिसनखोरहरुसँगको मिलेमतोमा भूमाफियाहरुले सरकारकै एउटा मुख्यालय भएको बालुवाटारको जमिन कब्जा गरेको घटनाले हामीलाई स्तव्ध पारेको छ । यो घटनाको चर्चा नसेलाउँदै काठमाडौं महानगरपालिकाको मिलेमतोमा स्वच्छन्द बिकोई बिल्डर्सले सहिद मञ्च (खुला मञ्च) कब्जा गरेर त्यस स्थानमा ५२ वटा सटर बनाएर भाडामा लगाउँदै छ भन्ने समाचारले जनतालाई उद्देलित बनाएको छ । सहिद मञ्च जनताले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ हो । यस माथि धावा बोल्ने काम केवल जनताको सम्पत्ति माथि अतिक्रमण मात्र होइन, यो जनताको अधिकार माथिको अतिक्रमण पनि हो । यो हाम्रो लागि सह्य हुन सक्दैन । त्यसैले, हामी महानगरपालिका र ओली सरकार दुबैलाई के चेतावनी दिन चाहन्छौं भने सहिद मञ्चलाई यही बैशाख महिनाभित्र खाली गराइयोस् र जनताको जिम्मामा दिइयोस् । यदि त्यसो गरिएन भने जनता आफैंले प्रत्यक्ष कारवाहीद्धारा मुक्त गर्न वाध्य हुने छन् । यसको निमित्त हाम्रो संगठन अग्रपंक्तिमा रहेर संघर्ष गर्न तयार रहने कुरा पनि स्पष्ट पार्न चाहन्छौं ।”

प्रतिक्रियाहरु

[anycomment]