बन्दी बनाइएका ने.क.पा.का नेता जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, १५ बैशाख । प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित हुन् । उनले त्यससम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधि खाइरहेका छन् । पुनः गिरफ्तारपछि संगठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परिक्षण गराउने त कता हो कता, नियमित औषधि टुट्दा समेत बेवास्ता गरेको उनका परिवारका सदस्ये बताएका छन् । भेटघाट गर्न पुगेकाहरुसँग आफू गम्भीर स्वास्थ्य समस्यामा परेको र उपचारका लागि काठमाडौं लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै आएको बताए । बन्दीले पाउने सामान्य उपचार सुविधासमेत राज्यले आफूलाई नदिएको र उपचारका लागि गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले फासीवादी चरित्र देखाएको भन्दै उनले आपत्ति जनाएको कुरा भेटपछि फर्किएका आफन्तले बताए । उनको अवस्थाबारे गम्भीर बन्न पनि मानवअधिकार आयोग, संगठन तथा संचारमाध्यमसँग नेता जीवन्तका परिवारले आग्रह गरेको छ ।