पत्रकार महर्जनलाई अभिनन्दन्

काठमाडौ, १८ बैशाख । नेपाल पत्रकार महासंघले जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित ऐक्यवद्धता र्यालिपछि कोणसभामा महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । उनी सर्वाेच्च अदालतको आदेशमा बैशाख १७ गते रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै रिहाइकालागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल लगायत सबैलाई धन्यवादसहित आभार प्रकट गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै सबै एकजुट हुन आग्रह गरे ।
यसैबीच, । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे बुधबार ऐक्यवद्धता र्याली निकालेको छ । काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निकालिएको र्यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन् । महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको भन्दै त्यसका विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए । पत्रकार महासंघले आजको दिन सात प्रदेश र सबै जिल्लाहरुमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे र्याली निकालेको छ ।