विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित

काठमाडौ, १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको ठोकुवा गरेका छन । उनले विप्लव नेतृत्वको पार्टीले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दा–भन्दै सरकारले अनावश्यकरुपमा हाइलाइट गरिरहेको बताए । दाङको टरिगाउँ विमानस्थलमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा वैद्यले भने , ‘विप्लवजी आफैले स्वयं सशस्त्र संघर्ष होइन । प्रहरी र सेनामाथिको आक्रमण होइन भनिरहनु भएको छ । तर, राज्यले अनावश्यकरुपमा हाइलाइट गरिरहेको छ ।’ उनले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताउदै ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’उनले भने , ‘जति कुरा विप्लवजीले उठाउनुभएको छ ती सबै राजनीतिक कुरा हुन् । उहाँलाई राज्यले राजनीतिक व्यवहार गर्नु पर्दथ्यो।’
उनले सीके राउतसँग राता–रात वार्ता गर्ने सरकारले विप्लवसँग वार्ता गर्न खास ध्यान नदिएको टिप्पणी गरे । ‘वार्तामा बोलाउनका लागि मात्रै बोलाएर हुँदैन । सीके राउतसँग वार्ता गरेजसरी विप्लवसँग किन गरिएन’ उनले प्रश्न गरे । वैद्यले विप्लवमाथि दमन र यातना दिएर समस्याको समाधान नहुने बताए । उनले भने , ‘विप्लव पक्षका कतिपय राजनीतिक, विचार र लाइनसँग हामी सहमत छैनौं । तर, त्यो राजनीतिक समूह हो । उहाँहरुसँग सरकारले राजनीतिक समूहका रुपमा वार्ता गर्नु पर्छ’ उनले भने , ‘दमन गरेर, यातना दिएर समस्या समाधान हुँदैन, झन् बल्झाउँछ।’
फरक प्रसंगमा वैद्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । ‘कम्युनिष्टको सरकार छ भन्ने कुरा त बाहिर छ । सरकारले समृद्धिको कुरा पनि गरिरहेको छ,’उनले भने , ‘तर, समृद्ध नेपाल सुखी नेपालको नारा अनुसार सरकार अघि बढ्न सकेको छैन ।’ जनताले अब दुई तिहाईको सरकार कसरी अघि बढ्छ भन्ने प्रश्न उठाउन थालेको वैद्यको भनाइ छ। उनले ओली र प्रचण्ड नेतृत्वको नेकपा दक्षिणपन्थी भासमा जाक्किएको आरोप समेत लगाए । ‘नेकपा दक्षिणपन्थी पार्टी हो। नेकपा नाम नराखेको भए हुन्थ्यो, अलिक भ्रम पर्ने खालको भयो’ उनले भने ।