ने.क.पा. नेता जीवन्तको रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’को रिहाईको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ । धादिङ गाउँपालिका निवासी नेता जीवन्तलाई सरकारले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै पत्नी मनमाया कार्कीले रिट निवेदन दर्ता गरेकी हुन् । यो रिट निवेदन यो पछिल्लो पटकको गिरफ्तार तेस्रो हो ।
ने.क.पा.माथि प्रतिबन्ध लगाउने सरकारको गत फागुन २८ को निर्णययपछि चैत १ गते ललितपुरको च्यासल कोठाबाट सीआईबीको टोलीद्वारा गिरफ्तार भएका नेता जीवन्तलाई रिहाईको माग गर्दै पहिलोपटकको दायर रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्दोष सावित ठहरसहित रिहा गर्न चैत २४ गते आदेश दिएको थियो । महानगरीय प्रहरी परिसर टेकुले उक्त दिन रिहा लगत्तै संखुवासभा प्रहरीमा अर्को मुद्दा परेको भन्दै उनलाई सर्वोच्च अदालत गेटबाटै पुनः गिरफ्तार गरेर संखुवासभा पुर्याइएको थियो । काठमाडौं प्रहरीले उनीमाथि सत्ता पल्टाउने अभियानमा संलग्न रही कसुर गरेको आरोपमा राजद्रोहको मुद्दा चलाइएको थियो । तर त्यसलाई सर्वोच्चले अप्रमाणित भएको भन्दै खारेज गरिदियो ।
संखुवासभा पुर्याइएपछि नेपाल सरकार, गृह मन्त्रालय, संखुवासभा प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाई त्यस गिरफ्तारविरुद्ध सर्वोच्चमा अर्को रिट परेको थियो । तर उक्त रिटको सुनुवाई हुनुअगावै संखुवासभामा उनीमाथि लगाइएको अभियोगमा जिल्ला अदालत संखुवासभाबाट सफाई दिइँदै साधारण तारेखमा रिहा गर्न यही बैशाख ७ गते आदेश भएको थियो । त्यहाँ उनीविरुद्ध विष्फोट, आगजनी, संगठित अपराधलगायत अभियोग लगाइएको थियो ।
आदेशमा रिहा भएलगत्तै पुनः गिरफ्तार गरी काठमाडौं प्रहरीको अनुरोधमा संखुवासभा प्रहरीद्वारा पुनः गिरफ्तार गरी काठमाडौं पठाइएको थियो । काठमाडौं ल्याएर अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राख्दै आएको छ । उनको स्वास्थ्य अवस्था कमजोर रहेको समेत बुझिएको छ ।
अहिले नेता जीवन्तमाथि संगठित अपराधलगायत तीन वटा कसुर अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले बताएको छ । काठमाडौं ल्याइसकेपछि यता मात्र अनुसन्धानका लागि भन्दै आज काठमाडौं जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप गरिएको छ । नेता जीवन्त मृगौला र सुगर रोगबाट पीडित हुन् । उनले आफू नियमित स्वास्थ्य परिक्षण गराउँदै आइरहेकोमा गिरफ्तार यता उपचारको मौका सरकारले नदिई मानवअधिकारको गम्भीर उल्लंघन गरिरहेको जानकारी दिँदै आइरहेका छन् । दुवै रोग निदानसम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधी सेवन गर्दै आइरहेका छन् । कहिलेकाहीँ औषधी टुट्दासमेत बेवास्ता गर्ने गरेको र यसबाट स्वास्थ्यमा गम्भीर असर खेप्नु परिरहेको स्रोतले जनायो ।
यसअघि गत साउन १० गते संगठित अपराध कसुरमा काठमाडौंको नागढुंगाबाट गिरफ्तार भएका थिए नेता जीवन्त । उनी हाल पार्टीको जनवर्गीय संगठन गर्ने फाँटका ईन्चार्ज समेत हुन् । त्योबेला काठमाडौं, दाङ, काभ्रे, संखुवासभा, नुवाकोटलगायत जिल्ला दुईभन्दा बढी समय घुमाइएको थियो । त्यसपटक सबै जिल्लामा लगाइएको कर्तव्य ज्यान, विष्फोट, आगजनी, ज्यान मार्ने उद्योग लगायत अभियोगलाई सर्वोच्च अदालतले आधारहीन र प्रवृत्त भावनाबाट प्रेरित रहेको भन्दै खारेज गर्दै रिहा गर्न आदेश दिएको थियो ।
पछिल्लो पटक सरकारले ने.क.पा.माथि दमन, गिरफ्तार र सर्च क्रमलाई तीव्रता दिएको छ । ने.क.पा.ले सरकारले फासीवाद लादेकोभन्दै कडा विरोध र उसका गलत निर्णयबारे भण्डाफोर गर्दै आइरहेको छ । साथै गिरफ्तार नेता कार्यकर्ताको बिनासर्त रिहा गर्न माग जारी राखेको छ । आन्दोलनका विविध कार्यक्रम समेत संचालन गरिरहेको छ । प्रतिबन्ध फुकु्वा गर्न सरकारमाथि नागरिकस्तरबाटै चर्को दबाब बढ्दै गएको छ ।