अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तार

काठमाडौं, २७ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ। आज आयोजित ११ विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको बताए। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ ।
११ विद्यार्थी संगठनद्वारा आयोजित उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू ‘पाँचौं’ का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निष्पक्ष, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, राष्ट्रवादी वि। संघका अध्यक्ष, ताराप्रसाद अर्याल र ने आ ज वि महासंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ –
“१. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरी पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनका लागि नेपाल सरकारको शिक्षामन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरियो ।
२. राष्ट्रिय आविष्कार केन्द्रलगायत अनुसन्धानका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलगायत सबैलाई समेटी उच्चस्तरीय सबै क्षेत्रका राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम जेठ ११ गते प्रज्ञा–प्रतिष्ठानको डबलीमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।
३. राज्यसत्ताको दुरुपयोग गरी विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु वाइडबडी, एनसेल, फोरजी, बालुवाटार जग्गा, सुनकाण्ड, ठेकेदारकाण्डलगायतका विषयहरुमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीको निम्ति नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो ।”