अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई २४ घण्टाभित्र रिहाई नगरे सशक्त संघर्ष

२०७६ बैशाख २८ गते, शनिबार

काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ। ११ विद्यार्थी संगठनले शुक्रवार दिउँसो आफ्ना कार्यक्रमहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरिरहेकै बेला विप्लव नेकपानिकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो । उक्त गिरफ्तारीलगत्तै विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र ढकालको रिहाइ नगरिएमा ओली सरकारविरुद्ध सशक्त संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।
पञ्चायती काललाई पनि बिर्साउने गरी ओली सरकारले देखाएको फासीवादी हर्कतको चर्को विरोध गर्दै विज्ञप्तिको सुरुमा भनिएको छ– ‘पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, सो समेतलाई माथ दिने गरी हालको केपी ओली नेतृत्वको नेपाल सरकारले फाँसीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ ।’
सो निन्दनीय कार्यकोे ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दै गिरफ्तार गरिएका ढकाललाई ‘बिनासर्त तत्काल रिहाइको माग गर्दै’ यदि ओली सरकारद्वारा ढकाललाई ‘२४ घण्टाभित्र रिहाइ नगरिए सशक्त संघर्षमा उत्रने’ विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । यसका साथै विद्यार्थी
११ विद्यार्थी संगठनले ‘सरकारका यस्ताखाले गतिविधिको विरुद्धमा उत्रन सम्पूर्ण विद्यार्थीलाई अपिल’ समेत गरेको छ ।
यसैगरी , अखिल (क्रान्तिकारी)सहित एघार विद्यार्थी संगठनहरुले निजी विद्यालयले मनपरी ढंगले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेको छ । शुक्रबार अनामनगरस्थित युनियन हाउसमा विभिन्न राजनीतिक दलनिकट एघार विद्यार्थी संगठनहरुको नेतृत्व उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा वक्ताहरुले नीजि क्षेत्रका विद्यालयहरुले बिनाकारण र आधार चर्को वृद्धि तुरुन्त खारेज गर्न र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई देशभित्र मनपरी रुपमा चलाइरहेका कलेजहरुमाथि संगठनहरुको सहभागितामा छानबिन गर्न माग पत्रकार सम्मेलनमा वितरित १४ बुँदे मागपत्रमा उल्लेख छन् ।
प्रत्येक स्थानीय तहमा एकएक वटा व्यावसायिक र प्राविधिक शिक्षालय खोल्न र सीटीभीटीईबाट संचालित डिप्लोमा तहका कोर्ष निशुल्क गर्न माग गरिएको छ । साथै पर्यटन विश्वविद्यालयको स्थापना गर्न र विश्विद्यालयहरुमा दलीय भागबण्डामा हुने प्राध्यापकहरुको नियुक्ति अन्त्य गरी स्वस्थ प्रतिस्पर्धाबाट नियुक्ति गर्नसमेत एघार विद्यार्थी संगठनले माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका मागपत्र वितरण गरिएको थियो ।
त्यस्तै बिहिबार राजधानीमा बसेको एघार विद्यार्थी संगठनको संयुक्त बैठकले शिक्षा मन्त्रालयसँग भएको सहमति पालना गराउन केन्द्र सरकारदेखि स्थानीय तहलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, राष्ट्रिय आविष्कार केन्द्र खोल्न दबाब दिने, एनसेल, वाइडबडी, सुनकाण्ड, बालुवाटार जग्गा किर्ते, फोरज काण्डलगायत विषयमा संलग्नहरुमाथि कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]