जेठ ५ गते शैक्षिक हड्ताल

काठमाडौं, २८ बैशाख । अखिल (क्रान्तिकारी)ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाईको माग गर्दै जेठ पाँच गते आमशैक्षिक हड्तालको घोषणा गरेको छ । ११ बिद्यार्थी संगठनले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनबाटै अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि अखिल (क्रान्तिकारी)ले त्यसको बिरोधमा शैक्षीक हड्तालसहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार वैशाख २९ गते देशव्यापी कोणसभा, जेठ १ गते देशव्यापी विरोध प्रदर्शन, ४ गते देशव्यापी मसाल जुलुस, र जेठ ५ गते आम शैक्षीक हड्ताल रहेका छन् ।
संगठनका उपाध्यक्ष रुद्र भट्टराईले बिज्ञप्ति जारी गरी सामाजीक दलाल फाँसीवादी वर्तमान सरकारले अध्यक्ष ढकाललाई गैरन्यायीक ढंगबाट गिरफ्तारको भन्दै भत्सना गरेका छन् । शान्तिपूर्ण रुपमा भेला, सम्मेलन हुन पाउने, विचार राख्न पाउने अधिकारलाई समेत बन्देज लगाएको भन्दै बिज्ञप्तिमा भनिएको छ, “सामाजिक दलाल फाँसीवादी सरकारले आफ्नो लुटको स्वर्गलाई टिकाउन जनता एवं विद्यार्थीहरुले उठाएका जनपक्षिय मागहरुलाई बन्दुक र जेलनेलले रोक्ने दुस्प्रयास गरिरहेको छ । ”
जनताको न्यायको आवाजलाई अहिले बन्दुकले दबाउन अन्तिम प्रयास गरिरहेको भन्दै उपाध्यक्ष भट्टराईले जनविरोधि एवं राष्ट्रघाति ठुला ठुला तानाशाहहरु जनताको आन्दोलनको अगाडि समाप्त भएको इतिहास साँक्षी रहेको र जेल नेल र हत्कडीहरुले जनताको विचार र आन्दोलनलाई रोक्न नसक्ने बिज्ञप्तिमा जनाएका छन् ।
गिरफ्तार संगठनका केन्द्रीय अध्यक्ष ढकाललाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै बिज्ञप्तीमा भनिएको छ, “ओली सरकारको प्रतिबन्ध र गिरफ्तारीको देशैभरि प्रतिरोध गर्न पनि आम युवा विद्यार्थीहरुलाई आह्वान गर्दछ ।”
अध्यक्ष ढकाललाई शुक्रवार शिक्षा क्षेत्रमा देखिएका तमाम बिकृति बिसंगतिहरुका बिरुद्ध शिक्षा मन्त्रालयमा पेश गर्ने माग पत्र र ५५ औ बिद्यार्थी दिवशका बारेमा जानकारी गराउन ११ बिद्यार्थी संगठनले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनबाट प्रहरीले गिरफ्तार गरेको थियो ।