झुठा अभियोगमा फसाउन खोजिए पछि पूर्जी बुझ्न अस्वीकार

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, २९ बैशाख । शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गर्दागर्दैको अवस्थामा गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई काठमाडौं जिल्ला अदालतले एक दिन म्याद थप गरेको छ । १५ दिन म्याद थपको माग गरिएपनि अदालतले आइतबार अनुसन्धानका लागि एक दिन मात्र म्याद थपको अनुमति दिएको छ । कानून व्यवसायी (अधिवक्ता) समेत रहेका अध्यक्ष ढकाल नेपाल बार एसोसिएसनका सदस्य समेत हुन् । पत्रकार सम्मेलनस्थलबाट बल प्रयोग गरी गिरफ्ता गरिएका ढकाललाई आज मात्र पक्राऊ पूर्जी दिएको थियो । तर उनले कानून उल्लंघन गरेर आफूलाई पूर्जी दिन खाजेको भन्दै बुझ्न अस्वीकार गरेका हुन् । पूर्जी राज्य व्यवस्था पल्टाउने कसुर राजद्रोहको अभियोगमा दिन खोजिएपछि ढकालले झुठा आरोपको प्रतिवाद गरेको निकट स्रोतले जनायो ।
गिरफ्तार गरेको बखत् ढकाललाइ जरुरी पूर्जी समेत प्रहरीले दिएका थिएनन् । गिरफ्तार गर्नुपूर्व नेपाल विद्यार्थी संघका पूर्वसभापति ऋषिकेशजंग शाह लगायतले पक्राउ पूर्जी देखाउन भन्दै डीएसपी नेतृत्वको टोलीको प्रतिवाद गरेका थिए । प्रशासन र सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
कानून अनुसार अदालतबात पक्राऊ पूर्जी जारी गर्ने समय अभावको भएको बखत प्रहरी अधिकारीले जरुरी पूर्जी दिएर मात्र पक्राऊ गर्न सकिन्छ । तर अध्यक्ष ढकाललाई त्यसदिन महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत सिंहदरबार वृत्तका प्रहरी नायब निरीक्षक (डीएसपी) काजीकुमार आचार्यको नेतृत्वमा आएको दर्जन प्रहरीको टोलीले बिना पूर्जी गिरफ्तार गरेको थियो ।
स्रोतका अनुसार गिरफ्तार गरेको ४८ घण्टा बित्दासम्मन पूर्जी जारी गर्न नसक्दा सरकारले कानून उल्लंघन गरेको जिकिर कानून व्यसायीहरुले गरेका छन् । यस्तो अवस्थामा ढकाललाई बिना पूर्जी थुनामा राख्नु गैरकानूनी कार्य हुने र तत्काल रिहा गर्नुको विकल्प राज्यसँग नहुने तर्क वकिलहरुले गरेका छन् ।
साथै विप्लव नेतृत्वको ने.क.पा.माथि मात्र सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको अवस्थामा उसका भातृ संगठनहरुमाथि उक्त निर्णय एकै किसिमबाट लागू नहुने तर्क कानून व्यवसायीहरु गर्छन् । अखिल (क्रान्तिकारी) प्रतिबन्धित संगठन नभएको र संगठनका नेता कार्यकर्तामाथि प्रतिबन्धित अर्थ लगाएर व्यवहार गरिनु कानून विपरीत हुने उनीहरुको जिकिर छ । ढकाललाइ महानगरिय प्रहरी परिसर, टेकुमा राखिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]