‘प्रतिबन्ध र भ्रष्टचारीको विरोध गर्दा विप्लव भइन्छ भने स्वीकार्य ‘

२०७६ जेष्ठ ९ गते, बिहीबार

काठमाडौं, ८ जेठ । नागरिक समाजका अगुवा र राजनीतिक विश्लेषकहरुले भ्रष्टचारी र सरकारको फासीवादको विरोध गर्दा विप्लव भएको अर्थ लगाउँछन् भने आफूहरुलाई स्वीकार्य हुने बताएका छन् । बुधबार दिउँसो शान्तिबाटिका पाँच पार्टीले आयोजना गरेको अन्तर संवादमा धारणा राख्दै अभियान्ता समेत रहेका वक्ताहरुले केपी ओली नेतृत्वको सरकार भ्रष्टचार र राष्ट्रघाती निर्णय ढाकछोप गर्न विप्लव नेतृत्वकोे ने.क.पा.माथि प्रतिबन्ध लगाएको बताएका छन् ।
फासीवाद र भ्रष्टचारको नेपाली समाजले सधैं विरोध गर्नुपर्ने उनीहरुको तर्क थियो । देश सरकारकै कारण भ्रष्टचार र राष्ट्रघात मौलाएको बताउँदै केपी ओली र उनी नेतृत्वको सरकार राष्ट्रवादी नभएको जिकिर गरे । आफूहरुले दुई वर्षपहिल्यै यो सरकार देशभक्त होइन भनेको अहिले पुष्टि हुँदै आएको बताए ।
अन्तरसंवादमा बोल्दै वाम तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले केपी ओली र प्रचण्ड देशभक्त र राष्ट्रवादी होइनन् भनेको कुरा अहिले प्रष्ट हुँदै आएको छ, उनले भने नाकाबन्दीका बेला ओलीले देखाएको राष्ट्रियताको भाव उनैले अहिले त्यही भारतसँग बेचेर खाइसके । अब तपाई के भन्नुहुन्छ ? त्यो त उनको क्षणित लाभका लागि देखाएको राजनीतिक राष्ट्रवाद थियो ।
ठूलाठूला क्रान्तिबाट आएका भनिएका नेताहरु पैसा र सुविधामा डुबेकै कारण जनता सधैं दुःख र अधिकारको संघर्षमा परिरहेको उनको भनाई थियो । सरकार साँच्चिकै फासीवादमा आएको छ । हामीले लडेको लडाई मिडिया काउन्सिल विधेयक जस्ता स्वतन्त्रविरोधी ल्याउनलाई थिएन । नागरिक विधेयक र मानवअधिकार आयोग विधयेक ल्याउनका लागि थिएन, उनले भने त्यसैले अब देशमा परिवर्तन र अधिकारको लागि संघर्ष अगाडि आउनबाट कसैले रोक्न सक्दैन ।
सरकार अधिकार माग्दै आन्दोलन गर्ने महिला दिदीबहिनीलाई बुट र लाठी बर्षाउने सरकार कंगो र अफ्रिका डान्सबारमा नेपाली चेली बेच्ने मानवतस्करप्रति आँखा चिम्लिने गरेको टिप्पणी उनको थियो । अब लडाई प्रहरी, सेनासँग नभई समाजका दलाल र फटाहसँग पर्ने निश्चित भएको उनको विश्वास थियो । भ्रष्टचार र मानवतस्कर अनि सरकारकाे राष्ट्रघाती निर्णयको विरोध, आलोचना गर्दा हामीलाई विप्लव देख्ने ? यो ओली सरकार कसको सरकार ? देख्छन् भने ठीकै छ ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टहरुले गर्ने क्रान्तिले मात्र जनताको अधिकार पूर्ण गर्ने र स्वाधीनता बचाउने बताए । केपीप्रचण्ड कम्युनिस्ट नै होइनन्, त्यसैले त नक्कली समाजवादको कुरा झिकेर दलाल संसदीय व्यवस्था छिर्न पुगे । नयाँ जनवादी व्यवस्था र वैज्ञानिक समाजवादको पक्षमा संघर्ष र पार्टीविरुद्ध गोली चलाउँदै हिँडेका छन् । फासीवादी सरकारको जस्तोसुकै दमनले जनताको आन्दोलनलाई केही फरक नपर्ने बताए ।
त्यस्तै लेखक एवं विश्लेषक युग पाठकले सरकारको गलत निर्णय र दम्भले देश नयाँ द्वन्द्वमा जाने खतरा बढेको भन्दै नागरिक समाजले यसलाई रोक्न भूमिका खेल्नुपर्ने बताए । आफूहरुले यो सरकार गठन भएदेखिनै चाल पाइसकेको बताउँदै पाठकले फासीवादी शासकलाई जनताले सधैं तिरस्कार गर्ने बताए ।
नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले आफूले केही गर्न नसक्ने सरकारले राजनीतिक प्रतिस्पर्धा गर्न खोज्ने पार्टीमाथि प्रतिबन्ध लगाउनु गैरजिम्मेवार असफलताको प्रमाण भएको बताए । ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेर सरकारले गम्भीर गल्ती गरेको उनको तर्क थियो ।
त्यस्तै अधिवक्ता वोर्णबहादुर कार्कीले देशको शासन सत्ता चलाउने शासक २००७ साल पहिले र त्यसपछि यता सबै भारतीय हस्तक्षेपको मतियार बन्दै आइरहेको बताए । अहिलेसम्म कुनैपनि शासक विदेशी दलाल र आन्तरिक सामन्त वर्गको मुठ्ठीबाट बाहिर रहन सकेनन् उनको भनाइ थियो ।
नेकपाका संयोजक ऋषि कट्टेलले पाँच पार्टी भ्रष्टचार, फासीवाद र राष्ट्रघातविरुद्धको राजनीतिक मोर्चाबन्दी आन्दोलन निर्णायक तहमा नपुगेसम्म नरोकिने बताए । आन्दोलनसँग डराएर सरकार दमनमा उत्रिए सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनी दिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले प्रचण्ड र बादलको बुद्धि भनेको देश र जनतालाई खाल्डो पार्ने र आफू बन्ने रहेको टिप्पणी गरे । मालेमावाद त्यागिसकेका प्रचण्ड राष्ट्रवादी स्वाभीमानी नेपाली जनताका लागि शत्रु सावित हुने दिन निकट आएको बताउँदै त्यसनिम्ति लड्न तयार हुनुपर्ने बेला आएको बताए ।
मिल्ने विषय र एजेण्डामा पाँच पार्टीबाहरुले धारणा राख्दै थुप्रै नेकपा राख्नुभन्दा एकता गर्नुपर्ने र वर्तमान सरकार फासीवादी भएकोले विस्थापित गराउने संघर्षका कार्यक्रम ल्याउन सुझाव दिए ।
अन्तरसंवाद कार्यक्रम विप्लव नेतृत्वको ने.क.पा., कट्टेल नेतृत्वका नेकपा, किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रम नेकपाा (क्रान्तिकारी माओवादी)का नेता रामसिंह श्रृषले गरेका थिए । जनाधिकार र जनजीविका तथा राष्टियताको मुद्दामा पाँच पार्टीबीच कार्यगत एकता गरेर आन्दाृेृलन चलारहेका छन् । आजको कार्यक्रम त्यसैको निरन्तरता हो ।
कार्यक्रममा पाँच पार्टीको तर्फबाट संयुक्त रुपमा निकालिएको फासीवाद, भ्रष्टचार र राष्ट्रघातविरुद्धको पर्चा वितरण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]