‘ अर्बौं रुपैयाँ कर छल्ने एनसेल र बालुवाटार अतिक्रमणकारीलाई छाड्दैनौं’

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । अखिल (क्रान्तिकारी)ले शुक्रबार अर्बौं रुपैयाँ कर छल्ने र बालुवाटारको सरकारी जग्गा हडप्ने अतिक्रमणकारीलाई कारवाही गरेरै छाड्ने चेतावनी राजधानीमा दिएको छ । शुक्रबार राजधानीमा अखिल (क्रान्तिकारी)सहित तीन विद्यार्थी संगठनले संयुक्त रुपमा ‘भ्रष्ट एनसेल र बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारी विरुद्ध’ विरोध प्रदर्शन गर्दै आयोजित विरोध सभामा बोल्दै विद्यार्थी नेताहरुले सो चेतावनी दिएका हुन् ।
विरोधसभामा बोल्दै अखिल (क्रान्तिारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र लुहारले एनसेलले शासक वर्गलाई आर्थिक प्रभावमा पारेर ७३ अर्ब भन्दा बढी राजश्व छलेर राज्यलाई नोक्सानी पुर्याएको भन्दै कर तत्काल चुक्ता तिर्न माग गरे । त्यस्तै विद्यार्थी नेता लुहारले बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारीलाई सरकारले कारवाही नगरे जनताले कारवाही गर्ने चेतावनी दिए । ‘सरकारी नेकपाका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा हडप्नेमा मुछिएका छन्, तत्काल छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गर्दछौं,’नेता लुहारले भने ‘अन्यथा, जनताले छाड्ने छैनन् ।’ उनले सरकारलाई काण्डैकाण्डले भरिएको सरकारको संज्ञा दिँदै एनसेल, वाइडबडी, निर्मला पन्त हत्याकाण्ड, बालुवाटार जग्गालगायत काण्डका दोषीलाई कारवाही नगरेसम्म विरोध प्रदर्शन नरोकी बताए । विद्यार्थी वर्ग सचेत र विवेकशील शक्ति भएको भन्दै भ्रष्टचारी र हत्याराविरुद्धको आन्दोलन गर्दा जीवनभर जेल हालेपनि आफूहरु तयार रहेको बताउँदै भोजपुरमा युवा नेता तीर्थराज घिमिरे ‘राजु’लाई निहात्था अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गर्नेलाई यो सरकारले जेल हाल्छ कि हाल्दैन ?’ उनले प्रश्न गरे ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र हस्तक्षेप हुन्छ भने त्यसको जवाफ विद्यार्थीले राम्ररी दिने उनको तर्क थियो । अखिल (क्रान्तिकारी)ले सीमा अतिक्रमण, काला बजारिया, महंगी, भ्रष्टचारी, दलाल, माफिया, घुसखोर, तस्करलगायत राज्य र समाजका कलंकमाथि खबरदारी गर्दै आइरहेको र त्यो आगामी दिनमा पनि जारी राखिने उनले बताए ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले शान्तिपूर्ण विद्यार्थी आन्दोलनमा प्रहरी दमन हुनु सरकारकै लागि प्रत्युत्पादक हुने बताए । एनसेलले राज्यलाई तिर्नुपर्ने कर तत्काल तिर्न उनले आग्रह गरे । बालुवाटारको सरकारी जग्गा हडप्ने तत्व भूमाफिया भएको भन्दै अध्यक्ष रायमाझीले अतिक्रमण गरिएको जग्गा तत्काल फिर्ता गर्न माग गरे । फिर्ता नगरिए जनताले नछाड्ने चेतावनी दिए । रायमाझी नेतृत्वको विद्यार्थी संगठन गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट संगठन हो ।
त्यस्तै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरि गजुरेलले एनलेसले छली गरेको कर राज्यलाई तत्काल तिरेर दायित्व पूरा गर्न माग गरे । ‘छली गरेको कर एनसेलले नतिरी सुखै छैन’ उनले भने ‘अझै मौन बस्ने र पचाउन सकिन्छ भन्ने सोच्या छन् भने त्यो कम्पनीकै लागि गम्भीर क्षतिको विषय हुनेछ ।’
विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी रमेश सुनारलगायत विद्यार्थीहरुलाई सभास्थलबाटै गिरफ्तार गरेर सरकारले फासीवादको बाटो समातेको भन्दै उनले गिरफ्तार विद्यार्थीहरुलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरे । दमन र गिरफ्तारी श्रृंखरा रोक्न पनि माग गरे ।
सभा हुनुभन्दा पहिले शान्तिबाटिकाबाट शुरु भएको सयौंको र्यालीले असन, जमल, घण्टाघर परिक्रमा गरेको थियो । र्याली पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत भएकोे थियो । र्यालीमा ‘दलाल–माफिया होशियार, भ्रष्ट एनसेल बहिष्कार गरौं, बालुवाटारको अतिक्रमित जग्गा फिर्ता गर, भूमाफियालाई कारवाही गर, झुठा मुद्दा खारेज गर, महान सहिद जिन्दावाद, दोहोरो शिक्षा प्रणाली खारेज गर, जेठ १३ काे नेपाल बन्द सफल पाराैं’ सरकारी दमन मुर्दावाद’ जस्ता दर्जनौं किसिमका नारा लगाइएको थियो ।
कार्यक्रम चल्दै गर्दा अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनारलाई दरबारमार्ग वृत्तबाट खटिएको प्रहरी निरीक्षकको नेतृत्वको टोलीले विरोधसभा स्थलबाटै गिरफ्तार गरेको थियो । सभा समापनपछि छुटिने क्रममा विभिन्न स्थानबाट आधा दर्जन विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी)को कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]