ने.क.पा.का नेता प्रज्वलनसहित चार जना अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना नेताहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । शुक्रबार अदालतको आदेशमा रिहा भएका प्रज्वलनसहित नेकपा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्कीलाई प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेको हो । नेता प्रज्वलनलाइ काभ्रेमा अर्काे मुद्वा भएकाेले त्यता लैजाने बुझिएकाे छ । ललितपुर जिल्ला आदालतले आज थुनछेक बहसपछि सुनुवाई गर्दै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।अदालतकाे आदेशलगत्तै प्रहरीले स्वास्थ्य परिक्षणपछि मात्रै रिहा गर्ने भन्दै अदालत प्रांगणबाटै बा १ ग ३२९३ नम्बरकाे डिब्बावाला प्रहरी भ्यानमा राखेर लगेकाे हाे ।
गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा ललितपुर जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले रिहा गर्न आदेश दिएको हो । तर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले पुन गिरफ्तार गरेको हो ।
यसअघि सोहि मुद्धामा ने.क.पा.का स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र बहादुर कार्की र बुद्धि बहादुर स्याङतानलाई भने अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
यसअघि नै नेता सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुलाई नख्खु जेल चलान गरिसकेको थियो । नेता सुदर्शनलाई एनसेलको ललितपुरको नख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि भन्दै पुर्पक्षका लागि काराकार चलान गरिएको थियो ।
शुक्रबार फेरी हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा पुनः थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आठै जना नेतालाई शुक्रबार अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस पैरवी गरेका थिए ।