भ्रमपूर्ण समाचार नछाप्न चेतावनी

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्न चेतावनी दिएका छन । महासचिव विप्लवले आइतबार विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा शम्भु कट्टेलको बाइलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभएर घोर आपत्ति रहेको जनाएका छन । ‘उक्त समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र हाम्रो पार्टी र हामीले सञ्चालन गरेको जनताको संघर्षद्वारा अत्तालिएको यो फासीवादी सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं । पहिलो कुरा त उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली छन् । उनका ८ वर्षीय नावालक छोरा छन् । दोस्रो र मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन ।’ विज्ञप्तिमा भनिएको छ ।
यसरी सरासर झुठ र कपोलकल्पित समाचार एउटा राष्ट्रिय स्तरमा स्थापित सञ्चार माध्यममा आउनु आफैमा दुखतः, दुरासयपूर्ण रहनुका साथै हाम्रो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको बुझ्न सकिन्छ । यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्नसमेत विप्लवले विज्ञप्तिमार्फत सम्बन्धित सबैमा हार्दिक अपील गरेका छन् ।