‘ तीर्थ हत्याकाण्ड’ भीडन्त होइन, नियोजित ईन्काउन्टर

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का युवा नेता तीर्थराज घिमिरे ‘राजु’को हत्या दोहोरो भीडन्तमा नभई राज्यले गरेको सुनियोजित ईन्काउन्टरबाट भएको एक पूर्वमन्त्रीले बताएका छन् । भीडन्तस्थल, खुट्टामा गोली लागेका राजुको निधन, प्राथमिक उपचार क्षेत्र र मृत्यु भएको स्थान उल्लेख गरेको देख्दा राजुलाई नियोजित ईन्काउन्टरमा गोली हानी हत्या गरिएको अनुमान सहजै गर्न सकिने पनि उनले स्पष्ट पारेका छन् । यही जेठ ७ गते मंगलबार राति भोजपुर र खोटाङको सीमाना क्षेत्रमा पर्ने मैयुम गाउँपालिकाको मैयुम डाँडाँस्थित धोद्रे जंगलमा सर्च अपरेसन गर्ने क्रममा ने.क.पा.का कार्यकर्ताले गोली चलाएपछि जवाफी फायरिङसहित दोहोरो भीडन्त भएको र सोही क्रममा ने.क.पा.को युवा संगठनको जिल्ला सदस्य राजुको ज्यान गएको औपचारिक जानकारी प्रहरीबाट बुधबार बिहान मात्र संचारमाध्यमहरुले पाएका थिए । सोही हवालामा समाचार बाहिर आयो । राजु परिवारका अनुसार हत्या मंगलबार दिउँसो भएको हो । तर भोजपुर प्रहरीले भने दोहोरो भीडन्त भएको र सोही क्रममा ने.क.पा.का कार्यकर्ता राजु घाइते भएको र उपचारका लागि लैजाने क्रममा बाटो पहिरोबाट अवरुद्ध भई उपचारमा ढिलाई हुन गई मुत्यु हुन पुगेको जनायो. । तर यो कुरा सत्तारुढ नेकपाका नेता समेत रहेका पूर्व शिक्षामन्त्री धनीराम अर्थात डीआर पौडेल स्वीकार्न तयार छैनन् । विप्लव नेतृत्वको ने.क.पा.ले घोषित रुपमा युद्ध घोषणा नगरेको र राज्यले पनि ने.क.पा.विरुद्ध सर्च अभियान चलाएको औपचारिक जानकारी नदिएको अवस्थामा दोहोरो भीडन्त मान्न नसकिने तर्क पौडेलले आफ्ना फेसबुक पेजमा स्टाटस लेखेर अघि सारेका छन् । नेता पौडेलले एक ठाउँमा ‘भीडन्त’, खुट्टामा गोली लागेको, घाइतेको अर्को ठाउँमा प्राथमिक उपचार र मृत्यु अन्यत्रै जिल्लामा भएको भनी दिइएको सरकारको जानकारीले पनि मृत्यु प्रयोजित हो भनेका छन् ।
युद्धको घोषणा गरेको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै, नभए धोद्रेमा दोहोरो भीडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो ? भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो नियोजित ‘इन्काउन्टर’ हो’ जेठ ९ गते फेसबुक पेजमा पोष्ट स्टाटसमा उनले लेखेका छन् ।
‘दोहोरो भीडन्तको नाममा जनयुद्धकालमा थुप्रै नेता कार्यकर्ताले कसरी शहादत पाउँथे ?’ भन्ने कुरा गृहमन्त्री बादल स्वयम् अनुभव भएको र यो कुरा सर्वसाधारणले समेत बुझ्दै आएको स्मरण गराएका छन् । धोद्रे क्षेत्रमा जनयुद्धकालमा आफूले पनि थुप्रै बैठकहरु सम्पन्न गरेको परिचित क्षेत्र भएको उनको जिकिर छ । त्यसबेला तत्कालीन सरकारले अपनाएको नक्कली भुडभेठलाई बादलले ‘पुरानो सत्ताको करामत’ भन्ने गरेको खुलासा समेत उनले गरेका छन् । ने.क.पा.लाई विद्रोही भएको उल्लेख गर्दै विद्रोहीलाई नजिस्क्याउन र हत्या तथा इन्काउन्टरको नीति नलिन पनि सरकारसँग आग्रह गरिएको छ ।
‘विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र ईन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने त बादल कमरेडलाई थाहा हुनु नै पर्ने हो’ भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ब्यंग्य समेत गरिएको छ । साथै उनले राज्यले चलाएको गोली लागेर मृत्यवरण गरेका तीर्थराज घिमिरे ‘राजु’ सहिद घोषणा पनि अन्कनाउनुपर्ने कुनै कारण नभएको समेत उनले सुझाएका छन् ।
स्मरण रहोस्, ने.क.पा.माथि गत फागुन २८ मा सरकारले प्रतिबन्ध लगाउने भनी गरेको निर्णयको सामाजिक सञ्जाल लागयत विभिन्न माध्यममार्फत खुलेर विरोध गर्दै आएका छन् । प्रतिबन्धको विरोध यतिखेर चौतर्फी रुपमा तीव्र बन्दै गइरहेको छ । ने.क.पा.का निकट युवाहरुको संगठन ‘युवा संगठन नेपाल’का जिल्लाका युवा नेता भोजपुरको मैयुम गाउँपालिका कुदाककाउलेका २५ वर्षीय तीर्थराज घिमिरे ‘राजु’को यही जेठ ७ गते दिउँसो भोजपुर र खोटाङको सीमानामा पर्ने धोद्रे भन्ने जंगलमा नियन्त्रणमा लिई तिघ्रामा गोली हानी हत्या गरिएको थियो । यसको पुष्टि ने.क.पा.का महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नक्कली भुडभेठको हौवा फैलाएर निसशस्त्र कार्यकर्तालाई गिरफ्तार गरी निहत्थामाथि गोली हानी निर्मम तरिकाले हत्या गरेको प्रस्ट पारिसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]