आधारहीन र भ्रामक समाचार नलेख्न चेतावनी

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले पार्टी विरुद्ध निरन्तर भ्रमपूर्ण समाचार प्रकाशन भइरहेको भन्दै उक्त हर्कत तत्काल रोक्न र सत्यतथ्यमा आधारित समाचार सम्प्रेष गर्न आग्रह गरेको छ ।
ने.क.पा.को उपत्यका विशेष ब्यूरोले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीको नीति–योजाना विपरीत केही संचारमाध्यमले कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको उल्लेख गर्दै त्यस्तो गलत समाचार नलेख्न चेतावनी दिएको छ ।
उपत्यका ब्यूरो इन्चार्ज प्रज्वलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जेठ १३ गते पार्टीले आव्हान गरेको वर्तमान दलाल संसदीय व्यवस्थाविरुद्धको नेपाल बन्द पूर्णसफल भएको उल्लेख गर्दै बन्दमा सहयोग पुर्याउनेहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । सोही नेपाल बन्दका क्रममा केही अप्रिय घटनाहरु घटन पुगे र पार्टीलाई अपूरणीय क्षति हुन पुगेको पनि उनले जनाएका छन् ।
यसैक्रममा इन्चार्ज प्रज्वलले हिजो जेठ १५ गते बुधबार राजधानीबाट प्रकाशित एक साप्ताहिकले पार्टी र नीति कार्यक्रमविरुद्ध बिनाआधार भ्रामक र उत्तेजना फैलाउने गलत नियतले तथ्यहीन समाचार प्रकाशन गरेर जनतामा भ्रम पैदा गराउने षडयन्त्र भएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पत्रकारिताको नाममा गलत समाचार सम्प्रेषण गरेर भ्रम फैलाउने जस्ता पित पत्रकारिता नगर्न समेत ने.क.पा.ले कडा चेतावनी दिएको छ ।
ही जेठ १५ गते बुधबार प्रकाशित जनआस्था नामक साप्ताहिक पत्रिकाले “यसरी बन्यो, बम, यसरी बढ्यो दम” भन्ने शीर्षकमा सशस्त्र प्रहरी बलका पूर्व आई.जी. सिंहबहादुर श्रेष्ठको घरमा बम राख्ने तयरी गरेको तर आफैं विष्फोट भएको भनी कपोलकल्पित, तथ्यहीन, बिनाआधार भ्रामक र उत्तेजना फैलाउने गलत नियतमा आधारित समाचार सम्प्रेषण गरिएको पाइयो । यस आधारहीन समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ इन्चार्ज प्रज्वलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
आइन्दा त्यसकिसिमका कपोलकल्पित र आधारहीन समाचारको खेती नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पित पत्रकारिताको शैलीमा पार्टी र क्रान्तिका विरुद्ध यस्ता खालका गलत र भ्रामक समाचार अब उप्रान्त नलेख्न र भ्रम नफैलाउन सम्बधित पक्षलाई हाम्रो पार्टी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ ।’
यसअघि जेठ १२ गते अन्नपूर्णपोष्ट दैनिकले ‘विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप’ शीर्षकमा समाचार छापिएको समाचार तथ्यहीन र भ्रामक भएको भन्दै ने.क.पा.का महासचिव विप्लवले सोही दिन एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारमा विश्वास नगर्न सर्वसाधारण तथा सबैसँग अपिल गरेका थिए । पछिल्लो समयमा देशको स्वाधीता र जनताको पूर्ण मुक्ति तथा अधिकारको लागि ने.क.पा.को नेतृत्वमा अगाडि बढिरहेको क्रान्तिविरुद्ध राज्य सत्ताकै योजनामा तीव्र रुपमा प्रचार युद्ध चलाइएको उसको भनाई छ ।