नेपाल कम्युनिस्ट पार्टीमाथि राज्य आतंक

२०७६ जेष्ठ १८ गते, शनिबार

काठमाडौं, १८ जेठ । राज्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि अहिलेसम्म कहाँ कहाँ गोली चलायो र गोली लागेर कति घाइते भए तथा कति जनाको ज्यान लियो ? भन्ने विषयमा जनचासो बढ्दै गएको छ । राजनीतिक अस्थिरता र राज्य व्यवस्थाप्रति नागरिकको असन्तुष्टिबीच यसो हुनु स्वभाविकै हो । झनै अहिलेजस्तो नागरिक र पेशागत विषयमाथि सरकारले लिँदै गएको गलत निर्णय र असामाजिक कार्यशैलीले विद्रोहीले चाल्ने हरेक कदमको पक्ष वा विपक्षमा नागरिकलाई उभ्याइदिन्छन् । सरकारले दैनिक जीवनको आधारभूत आवश्यकता पूर्तिमा सहजता भन्दा जटिलता र कृत्रिम अभाव अनि पूँजीपति वर्गको स्वार्थ पूर्ति हुने जस्तै भ्रष्ट, तस्कर, माफिया, कालाबजारिया र राष्ट्रघाती, हत्यारा सामाजिक विकारलाई कारवाही नगरी संरक्षण दिन नछाडेपछि नागरिक वैकल्पिक अर्थात असल शासन व्यवस्थाको खोजीमा लाग्छन् र विद्रोही पक्षसँग मिलेर त्यस्ता कुतत्वहरुमाथि जनस्तरबाटै कारवाहीको प्रक्रिया चलाउन अघि सर्छन् । अहिले ७३ अर्ब रुपैयाँ राजश्व छलेर राज्यको ढुकुटीमा गम्भीर नोक्सानी पुर्याएको आरोप खेपिरहेका एनसेललाई छानबिन गर्नुको साटो उन्मुक्ति दिन थालेपछि एनसेलमाथि भइरहेको आक्रमणजस्ता घटनाको निहुँमा आक्रमण गर्ने पक्षमाथि राज्यले नै गोली प्रहार गर्न थालेपछि सर्वसाधारण तहसम्मको गहिरो चासो हुनु स्वभाविकै हो ।
ने.क.पा.का अनुसार देशलाई क्षति र जनतालाई हानी पु-याउने पक्ष र पात्रलाई राज्यले नै संरक्षण गर्न नछाडेपछि तिनलाई जनताको रिपोर्ट र जनताकै साथ लिएर सचेतनास्वरुप कारवाही गरिएको हो । उसको भनाई एनसेल लक्षित हो भन्ने सबैले नबुझ्ने विषय होइन । पार्टीले राज्यलाई निहुँ खोज्ने किसिमका कुनै घटना वा गतिविधि नगरेको र उल्टै राज्यले नै भ्रष्ट र माफियालाई पक्षपोषण गरिरहेको आरोप विद्रोही पक्षको छ । त्यसैले होला, उसले एनसेलमाथिको आक्रमणलाई ‘भ्रष्टमाथिको कारवाही’ भनेर अथ्र्याइएको छ । जबकि एनसेलमाथि राज्यलाई ७३ अर्ब रुपैयाँ कर छली गरेर नोक्सान पुर्याएको गम्भीर आरोप छ । ‘भ्रष्ट एनसेलमाथि कारवाही’ करिब चार वर्ष पहिले पनि पहिलोपटक देशभर गरी २८ वटा मोवाइल टावरमा हानेर कर तिर्न कडा चेतावनी दिइएको थियो । त्यसपछि पहिलो खेपमा १० अर्ब र पछिल्लो (दोस्रो) खेपमा १३ अर्ब ६० करोड रुपैयाँ कर राज्यलाई बुझायो । यसबाट पनि एनसेलमाथि जनस्तरबाटै करछली गरेको शंकामा थप बल पुगेको हो । आरोप पखाल्न नसक्नु नै एनसेलको लागि कलंक बनेको छ । आक्रमणका घटना नभएको भए सायद राजश्वमा दाखिल हुनुपर्ने त्यतिका रकम फगत् एनसेलको हुन्थ्यो ।
तर सरकारले जनता र समाजको नियमित जीवनमा व्यवधान खडा गर्ने र नीजि सम्पत्तिमाथि क्षति पुर्याई शान्तिसुरक्षामा खलल पु¥याएको भन्दै सरकारले ने.क.पा.का गतिविधिमाथि करिब दुई वर्षदेखि नजिकबाट कडा निगरानी राख्ने र भेट्टाएसम्म गिरफ्तार गर्ने र मुद्दा चलाउने कार्यलाई अगाडि बढायो । त्यसपछि निरन्तर रुपमा ने.क.पा. र राज्यबीच अघोषित रुपमा लडार्इँ नै चल्दै आयो । अगाडि बढ्दै सरकारले ने.क.पा.का नेता कार्यकर्तालाई गिरफतार गर्न गोली नै चलायो । ताकि चुनाव बहिष्कारको बेलामा चलनइएनन् ।
चुनावपछि गठन भएका केपी ओली नेतृत्वको सरकार ने.क.पा.प्रति शुरुदेखि नै असहष्णिु र प्रतिशोधको भावनाबाट चल्न थाल्यो । सरकार गठनको वर्ष दिन पार गर्दैगर्दा उसले विरोधी पार्टीलाई टिक्नै नदिने किसिमका निर्णयहरु गराउँदै अगाडि बढ्यो । फलस्वरुपः सरकारले पहिलोपटक गत फागुन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित अञ्चलपुरमा सर्च अपरेसन चलाएर रातको समयमा ने.क.पा.का ‘पकड क्षेत्र’लाई घेरा हाली नेता कार्यकर्तामाथि फायरिङ गर्यो । त्यहाँ ने.क.पा.ले लडाकु तालिम शिविर चलाएको आरोप सरकारले लगायो । जसलाई ने.क.पा.ले नियोजित घटना गराएर दमन गर्ने सरकारी षडयन्त्र भएको बतायो । उक्त अञ्चलपुर घटनाको स्वतन्त्र पुष्टि भने भएको छैन । त्यसबेला गोली लागेर ने.क.पा.का स्थानीय कार्यकर्ता ४० वर्षीय दुर्गाबहादुर रोका गम्भीर घाइते भए । उनको घुँडामुनि खुट्टामा गोली लागेको जानकारी दिइयो । जसलाई भाग्ने खोजेपछि घाइते बनाई नियन्त्रणमा लिइएको बताइयो । घाइते रोकाका साथबाट बन्दुक, हतियारसमेत बरामद भएको तर्क राज्यले अघि सार्यो । तर ने.क.पा.का महासचिव विप्लवले दिन एक प्रेस विज्ञप्ति जारी गरेर आफ्नै घरमा राति सुतिरहेको बेला निसशस्त्र रुपमा कार्यकर्ता रोकालाई नियन्त्रणमा लिई केही पर सुन्दरडाँडामा लगेर ट्वाइलेटमा थुनेर गोली हानेको आरोप लगाए । अञ्चलपुर क्षेत्र महासचिव विप्लवको स्थायी घर क्षेत्र हो । रोका हातहतियार तथा खरखजना मुद्दामा अहिले कपिलवस्तु कारागारमा छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेका ने.क.पा.लाई राज्यले उसका राजनीतिक गतिविधिले देशैभर प्रभाव जमाउँदै लगेको परिदृष्यमा प्रभाव थप फैलिन नदिने रणनीति तय गरेकै कारण पनि संगठन विस्तारमा रोकावट गर्नुपर्ने चुनौति सरकारसामू बेजोडले खडा भयो । चुनौति सामाना गर्ने उपयुक्त परिस्थितिको खोजीमा सरकार लाग्यो । चुनाव बहिष्कारको बेला समेत ने.क.पा.विरुद्ध गोली नचलाएको राज्यले एकाएक शिवराजको अञ्चलपुर बस्तीमा स्थानीयमाथि गोली चलायो । यसरी जब अञ्चलपुरमा गोली चलायो, त्यसपछि गोली चलाउन र दमन गर्न बन्द नगरिए कडा प्रतिवाद गर्ने चेतावनी दिँदै दमन नरोकी आइलागेमा भीड्ने संकेत ने.क.पा.ले देखायो । जस्तोसुकै स्तरको प्रतिरोध, प्रतिवाद गर्ने चेतावनी दिइएनि अहिलेसम्म ने.क.पा.बाट फायरिङ भएको औपचारिक रुपमा स्वतन्त्र समाचार बाहिर आएको छैन । उसले अहिलेको लडाई सुरक्षाकर्मी वा व्यक्ति विशेष नभई दलाल पूँजीवाँदी संसदीय व्यवस्था विरुद्धको भएको पटकपटकको प्रष्टिकरण दिँदै आएको छ ।
अञ्चलपुरमा गोली चलाएको सरकारले त्यसको हप्ता दिनपछि नै फागुन २८ मा ने.क.पा.लाई ‘अपराधिक समूह’को संज्ञा दिँदै उसलाई कुनैपनि गतिविधि गर्न नदिने घोषणा गर्दै प्रतिबन्धको घोषणा गर्यो । प्रतिबन्धको प्रमुख आधार प्रधानमन्त्री ओलीले आफू र प्रचण्ड लगायतको ज्यान लिने योजना ने.क.पा.ले बनाएर मान्छेसमेत खटाइसकिएको पाइएको भन्ने कुरालाई बनाए । तर ने.क.पाले भने आफ्नो पार्टीको लोकप्रियताबाट ‘भयभीत मानसिकताको उपज भएको तर्क गर्यो । घोषणापछि सुरक्षाकर्मीलाई ने.क.पा.विरुद्ध गोली चलाउने अख्तियारी समेत दिइयो । प्रधानमन्त्री ओलीले विप्लवको नामै किटेर चैत महिनाभित्र हतियार सरकारलाई नबुझाए खोसेर लिने चेतावनी समेत थिए । तर देशैभर सुरक्षाकर्मी परिचालन भयो । तुलनात्मक रुपमा उसका नेता कार्यकर्तामाथि बढी निगरानी र गिरफ्तार समेत हुन थाल्यो । ने.क.पा.का अनुसार उसका पूर्वी, मध्यकेन्द्रीय, मध्यपश्चिम र पश्चिम कमाण्डमा सरकारले धरपकडलाई तीव्र पार्यो । र, थुप्रै नेता, कार्यकर्ताको कुरै छाडौं शुभचिन्तक, समर्थकलाई समेत सरकारले गिरफ्तार गर्यो र आदलतको आदेशमा थुनामुक्त भएकाहरुलाई समेत झुठा मुद्दा चलायो ।
प्रतिबन्ध घोषणा गरेको करिब साता दिनपछि चैत ५ गते काठमाडौंबाट गिरफ्तार परेका कार्यकर्तालाई प्रयोग गरेर ने.क.पा.विरुद्ध काभ्रेका गाउँगाउँसम्म अपरेसन चलाएको ने.क.पा.को भनाई छ । सोही दिन ५ गते साँझ अपरेसनका लागि पुगेका बेला काभ्रेको रोशी गाउँपालिकाको काफल डाँडामा ने.क.पा.ले फायरिङ गरेको र त्यसमा जवाफी फायरिङ आफूहरुले गरेको सुरक्षाकर्मीले बतायो । ५ गते पार्टीका कार्यकर्ताद्वय विशाल तामाङ र ६ गते राति शिव धिमाललाई पक्राउ गरिएको बताइयो । त्यसलाई ने.क.पा.को मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनले ७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट गोली चलाएको सरकारको भनाईलाई ठाडै अस्वीकार गरे । बरु गोली प्रहरीले नै एकतर्फी चलाएको र त्यहाँबाट कार्यकर्ताद्वय सिन्धुपाल्चोकका बिशाल तामाङ र झापाका शिव धिमाललाई गिरफ्तार गरेको प्रष्टिकरण दिए । राज्यले ५ गते काठमाडौंबाट भोजपुरका डिकेन्द्र राई, दाङका नुमबहादुर विकलाई गिरफ्तार गरी अपरेसनका बेला उनीहरुलाई प्रयोग गरेको ने.क.पा.को दाबी छ । त्यसको भोलिपल्ट चैत ८ गते बिहान त इन्चार्ज सुदर्शन, पूर्वी ताम्सालिङ इन्चार्ज प्रज्वलनसहित ९ जनालाई सरकारले नीजि गाडीसहित नियन्त्रणमा लियो । हाल सुर्दशनसहित चार जनालाई विष्फोट, संगठित अपराध, राजद्रोहको मुद्दामा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा राखिएका छन् । त्यसपछि चैत्र १२ गते अछामको रामरोशन गाउँपालिकामा पनि सुरक्षाकर्मीले गोली चलायो । त्यहाँबाट ने.क.पा.निकट अखिल (क्रान्तिकारी)का जिल्ला कोषाध्यक्ष सुरेश साउद, कार्यकर्ताहरु राजेन्द्र धामी, भूमिसरा धामीसहित चार जनालाई गिरफ्तार गर्यो । त्योबेला कोही पनि घाइते भएनन् ।
त्यसको लामो समयपछि यही जेठ ७ गते भोजपुरको मैयुम गाउँपालिकास्थित भोजपुर र खोटाङको सीमानामा पर्ने धोद्रे जंगलमा गोली चल्यो । मंगलबार दिउँसो अपरेसन चलाएको र सो क्रममा ने.क.पा.ले गोली चलाएपछि जवाफी फायरिङ (भीडन्त) गरिएको तर्क सरकारले राख्यो । त्यसबेला ने.क.पा.का भोजपुर कुदाकाउलेका २५ वर्षीय युवा कार्यकर्ता तीर्थराज घिमिरे ‘राजु’को हत्या भयो । जसको ने.क.पा.का महासचिव विप्लवले ९ गते एक प्रेस विज्ञप्तिमा जारी गर्दै निसशस्त्र अवस्थामा युवा नेता राजुलाई गिरफ्तार गोली हानी निर्मम तरिकाले हत्या गरिएको कडा वक्तव्य दिए । हत्याको विरोधमा जेठ १३ गते नेपाल बन्दको आव्हान गरियो । बन्द कार्यक्रम सम्पन्न गर्यो ।
अहिले पनि सरकारले ने.क.पा. र सरकारबीच अघोषित लडाई जारी छ । १३ गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा भएको बम विष्फोट र विष्फोटमा परी ने.क.पा.कै ४ कार्यकर्ताको ज्यान गएको घटनापछि १३ गते संसद बैठकमा बोल्दै ने.क.पा.सँग जनसरकार र चार वटा कम्पनीको स्तरमा जनसेना गठन रहेको र राजधानीलाई मुख्य निशाना बनाइएको जानकारी प्रश्न उठाउने सांसदहरुलाई दिएका छन् । यसबाट पनि सरकार र ने.क.पा.बीच अघोषित युद्ध चलिरहेको अनुमान गर्नेहरुलाई सहज बनाइदिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]