पौडेललाई सहिद घोषणा

काठमाडौ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाएको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई नियन्त्रणमा लिइसकेपछि प्रहरीले हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको जनाएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘ सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’
बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा समेत गरेको छ ।
विज्ञप्तिमार्फत पौडेलाई सहिद घोषणा गरेको जानकारी दिदैँ उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’
पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ नेता पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको जनाउदैँ नेकपाले शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
साथै सहिदहरूको बलिदान खेर जान नदिने चेतावनी दिदै व्युरो इन्चार्ज अरुणले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गरेका छन् ।