चर्चित जनसंस्कृतिकर्मी माइला लामा गिरफ्तार

२०७६ श्रावण ५ गते, आईतवार

काठमाडौं, ५ साउन । नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज रहेका भनिएका माइलालाई शनिबार मध्यराति साढे बाह्र बजे उनी बसेको कोटेश्वर काँडाघारीस्थित घरलाई सशस्त्र सुरक्षा फौजले पूरै घेरा हालेर पक्राउ गरेको हो ।
दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय थिए । पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका उनी दोस्रो संविधानसभा निर्वाचनको सक्रिय बहिष्कारमा क्रियाशील भए ।
माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित छन् । अझ पार्टीभित्र त सबै घटक र गुट–उपगुटका मान्छेहरुबीच समेत उनी निकै विश्वास, आदर र सम्मानका पात्र रहँदै आएका छन् । कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा उनी स्थापित छन् ।
जनयुद्धकालमा काभ्रे जिल्लामा भएको एक त्रासदीपूर्ण आन्तरिक दुर्घटनामा परेर आँखा, कान, हात, खुट्टा र शरीरका अरू विभिन्न भाग क्षतविक्षत भएका उनी निकै कठिन उद्धार, उपचार, संघर्ष, त्याग र उच्च मनोबल एवं आस्था र आशावादिताकै भरमा आजपर्यन्त क्रियाशील छन् । अहिले पनि उनका आँखाको दृष्टि र कानको श्रवणशक्ति निकै कमजोर छ ।
राष्ट्रियस्तरका प्रतिष्ठित सर्जक, एक अदभुत प्रतिभा, चर्चित साहित्यकार–कलाकार–संगीतकारलाई केवल आस्थाकै आधारमा फत्तुरपूर्ण झुटा आरोप लगाएर यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु विडम्बनापूर्ण तथा गणतान्त्रिक–लोकतान्त्रिक मूल्यको ठाडै विपरीत कार्य हाे ।
अझ मुख्यतः दसवर्षे जनयुद्धकै बलमा देशमा गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशिताजस्ता उपलब्धि हासिल भएको कुरामा देश–विदेशका सबै इमानदार नागरिकहरु सहमत छन् । तर, त्यही गणतन्त्र र लोकतन्त्रको फल खाँदै त्यसैका अभियन्ता एक क्रान्तियोद्धाहरूलाई राज्यले अपराधीसरह पक्राउ गरेर बन्दी बनाउनु खेदजनक भएको प्रारम्भिक प्रतिक्रिया लेखक–साहित्यका–कलाकारहरुले दिएका छन् ।
आफूलाई ‘कम्युनिस्ट सरकार’ दावी गर्नेहरुले गरेको यो जघन्य हर्कतका विरुद्ध सिंगो देश उद्वेलित, आक्रोशित र आन्दोलित हुने निश्चित छ । कोही कृतघ्न र आपराधिक मानसिकताको छैन भने ऊ राज्यको यसखाले हर्कतका विरुद्ध र माइला लामाहरुको पक्षमा डटेर मैदानमा उत्रनु न्यूनतम कर्तव्य भएको स्रष्टा–सर्जक र प्रगतिशील पक्षधरहरूको भनाइ छ । गणतान्त्रिक नेपालका एक सशक्त क्रान्तियोद्धा एवं जनताका असली स्रष्टा–सर्जक माइला लामालाई पक्राउ गर्ने हर्कतप्रति घोर आपत्ति प्रकट गर्दै माइलालाई विनाशर्त र स–सम्मान तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]