नेता श्रेष्ठ पुनः गिरफ्तार , रुपन्देही लैजाने तयारी

२०७६ श्रावण ७ गते, मंगलवार

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’लाई अदालतको आदेशमा रिहा भए लगत्तै पुनः गिरफ्तार गरिएको छ । उनलाई आज रुपन्देही लैजाने तयारी गरिएको बुझीएको छ ।
काभ्रे जिल्ला अदालतमा सोमबार भएको थुनछेकको बहसपछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । यसअघि गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । यसअघि गिरफ्तार परेका नेकपाका अन्य नेताहरु भने सोही मुद्दामा बिना धरौटी रिहा भएका थिए ।
नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै गिरफ्तार गरेको थियो । उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएकोमा ललितपुर जिल्ला अदालतले जेठ १० गते केन्द्रीय सदस्य श्रेष्ठसहित चार जनालाई साधारण तारेखमा रिहा गरेको थियो । रिहा भएकामध्ये नेता श्रेष्ठ अदालत परिसरबाटै पुनः गिरफ्तार परेका थिए । नेता सुदर्शन भने नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।
यसैबिच , नेपाल कम्युनिस्ट पार्टीका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । हिमा गाँउपालिका–६, निवासी सेक्रेटरी शाहीसहित कालिकोटको नरहरि गाउँपालिका–२, निवासी युवा संगठनका कर्णाली ब्यूरो इञ्चार्ज बखतबहादुर बिष्टलाई सोमवार बिहान गिरफ्तार गरेको हो । हिमा गाउँपालिकाको धाँचुगाउँबाट बिहान ४ बजे सुतिरहेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। दुवै जनालाई सेक्रेटरी शाहीकै घरबाट गिरफतार गरीएको प्रहरी निरीक्षक ओलीले बताए ।
उता, सेक्रेटरी शाहीको परिवारको भने राति घरको ढोका फुटाएर उहाँलाई प्रहरीले अपहरण शैलिमा जवरजस्ती गिरफतार गरेको बताएको छ । फोक्सोको बिरामी शाहीलाई घरबाटै अपराधि शैलीमा जबरजस्ती धरपकड गरेको भन्दै परिवारले दुख व्यक्त गरेको छ ।प्रहरीले भने बाहिर ताल्चा लगाएको र खोल्न नमानेपछि फुटालिएको बताएको छ । यसअघि जुम्लाका इञ्चार्ज चन्द्रवीर तिरूवा (रविकिरण)लाई सिँजा गाउँपालिकाको घोडेङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]